विराटनगर । प्रधानमन्त्री रोगजार कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका मार्फत ७७ जनाले रोजगारी पाएका छन्।
यसमा सय दिने रोजगारी सृजना हुने विराटनगर महानगरपालिकाका रोजगार महाशाखा प्रमुख कपिल थापाले जानकारी दिए ।
यस्तै महानगरले आत्मनिर्भर र रोजगारी सृजना गर्नका निम्ति गार्मेन्ट सम्बन्धि तालिम र विद्युतिय सवारी साधन तालिम दिएको थापाले बताए।
उनको अनुसार गार्भेन्ट तालिम महिलालाई र विद्युतिय सवारी साधन तालिम पुरुषलाई दिएको छ। इच्छुकहरुलाई रोजगारीमा समते लगाइएको महानगरले जनाएको छ । तालिममा करिब २८ जना सहभागी भएपनि पुनः महानगरको सम्पर्कमा नभएको रोजगार महाशाखाले जनाएको छ ।
खर्च कति ?
प्रधानमन्त्री रोजगार कार्यक्रम वडा अन्तरगत सूची निकालेर छनौट प्रक्रिया समेत वडा कै जिम्मेवारीमा हुने गरेको छ । सय दिनको कार्यक्रम ७७ जनालाई दैनिक एक जना बराबर ६ सय ६८ रुपैयाँ दिने गरेको महानगरले जनाएको छ । प्रधानमन्त्री रोजगारी कार्यक्रममा ७७ जनाका लागि ५१ लाख ४३ हजार ६ सय रुपैयाँ लगानी हुने गरेको महानगरले जनाएको छ ।
प्रभावकारी कति ?
प्रधानमन्त्री रोजगार कार्यक्रममा झण्डै ९० प्रतिशत महिलाको सहभागिता रहेको छ । ७७ जनामा १५ जना मात्रै पुरुष यो कार्यक्रममा सहभागी रहेको रोजगार महाशाखा प्रमुख थापाले बताए । विपन्न परिवारका सदस्यलाई सहभागी गराएको यो कार्यक्रमले महिलाहरुलाई आत्मनिर्भर बन्नुपर्छ भन्ने प्रेरणा मिलेको समेत उनको भनाई छ । श्रीमानको कमाईमा आश्रीत महिलाहरुले पनि आफ्नै कमाईबाट घर खर्च चलाउन सक्ने वातावरण सृजना भएको समेत उनको बुझाई छ ।
‘ हामीले एकदम निम्न आय स्रोत भएको परिवारको सदस्यलाई यो कार्यक्रममा सहभागी गराएका छौ, ७७ जनामा धेरै महिला हुनुहन्छ । यो कार्यक्रममा रमाईलो पक्ष महिलाहरु आत्मनिर्भर बन्नुभएको छ ।’ उनले भने,‘ सय दिनको कार्यक्रम भएपनि घरखर्च चलाउने आफै कमाउन सक्ने हुनुभयो । यसले आत्मनिर्भर बन्ने उहाँहरुलाई प्रेरणा पनि मिलेको छ ।’ सहभागी धेरै जस्तो कृषि पेसामा आवद्ध भएकाले धान, गहुँ काटिसकेपछि यो कार्यक्रम सञ्चालन हुने गरेको छ ।
फोटो:फाइल