इन्दु साह
विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत विराटनगर–५ को गणेशचौकदेखि केशलिया पुलसम्मको ३ किलोटिमर २०० मिटर सडक निर्माणले गति लिईरहेको छ । निर्माणाधीन सडकको ४० प्रतिशत क्षेत्रको काम छोटो अवधीमै सकिएको हो । हुलाकी सडक निर्देशानालय, इटहरी परियोजनाको कार्यालयले निर्माणमा गति दिएपछि स्थानीयले समेत राहत महसुश गर्न थालेका हुन् ।
असार मसान्तसम्म उक्त सडक निर्माणकार्य पुरा गर्ने उद्देश्य राखिएको छ । हुलाकी सडक निर्देशानालय अन्तर्गत इटहरी परियोजनाको कार्यालयका ईन्जिनयर दुर्गा मण्डलका अनुसार असारसम्ममा काम गर्ने लक्ष्य राखिएको छ । निर्माणका लागि भत्काएर त्यसै अलपत्र छोडिएको सडकले आक्रान्त भएका स्थानीयको बारम्बारको आवाजलाई सम्बोधन गर्नका लागि अहिले रातदिन नभनी काम भईरहेको दावी छ ।
स्थानीय२३ वर्षीय विकास दाहाल भन्छन् क्याम्पस जादा आउदा वर्षौदेखि घाम लाग्दा धुलो खानुपर्ने र पानी पर्दा हिलोमा हिड्नुपर्ने अवस्था छिट्टै अन्त्य होला की भन्ने आसा छ । विद्यार्थी समेत रहेका दाहालले मुख्य सडकमा समस्या हुँदा शाखा सडक प्रयोग गर्नुपर्ने बाध्यता सहनु परेको बताए ।
देव एण्ड साएर एण्ड भूमी जे.भी.ले कम्पनिले यो सडक निर्माणको कार्य गरी रहेको छ । उक्त सडकमा नाला निर्माण कार्य पुरा भईसकेको साईट ईन्जिनियर दुर्गा मण्लको भनाई छ । असार ३० गतेसम्म सडक निर्माणका सम्पूर्ण कार्य सकिने उनको दावी छ ।
गत असार १४ गते स्थानीयको तर्फबाट नेकपा एमाले विराटनगर महानगरपालिकाका अध्यक्ष सागर थापाको पहलमा हुलाकी राजमार्ग निर्देशानालयका आयोजना निर्देशक अजयकुमार मुल, सिडिई माधवप्रसाद अधिकारी, योजना प्रमुख इटहरी, बलीराज मल्ल, निर्माण व्यवसायी बासुदेव उप्रेतीबीच डिजाइन लेवल परिवर्तन गरेर भएपनि काम गर्ने सहमति भएको थियो । डिजाइन परिवर्तन गर्ने र भेरिएसन निर्देशानालयले स्वीकृत गर्ने र निर्माण कार्यलाई तदारुकता दिने सहमति भएको थियो । त्यसपछि लगातार ठेकेदार कम्पनीले काम जारी राखेका कारण असारसम्ममा यो सडक निर्माण हुनसक्ने संभावनाको ढोका खुलेको हो ।
यो सम्झौतापछि निर्माण कम्पनीले कामलाई धमाधम अगाडी बढाउँदै आएको छ । असार मसान्तसम्ममा सक्ने लक्ष्य अनुसार सडकको नालासहितका केहि काम सकिएको हो । अब अढाई महिनाको अवधीमा कालोपत्रे गर्नेतर्फको काम बढ्ने संभावना देखिएपछि स्थानीयमा आसा पलाएको हो ।