विराटनगर । विराटनगर–३ राजबंशी चौक पूर्व सयपत्री मार्गमा केहिवर्ष अगाडी ‘ओपन जीम’ बन्यो । खुल्ला व्यायमशाला बनेपछि बिहान–बेलुका जीममा कसरत गर्नेहरुको भीड लाग्यो । स्थानीयका अनुसार १५ लाख लागतमा बनेको ओपन जीमले धेरैलाई साँझ–बिहान शारिरीक व्यायमका लागि बाटो खोलिदियो ।
तर, सञ्चालन गर्ने भरपर्दो विधी नहुँदा अहिले ओपन जीम छरपस्ट भयो । जीमका लागि बनेका संरचनाहरु टुटफुट भए, भाँचिए अनि बिग्रिए । खुल्ला जीमको अवधारणा अनुसार सबैभन्दा पहिले बनेको यहाँको संरचना अहिले जीर्ण भएको छ । यहाँ आएर जीम गर्ने कोहि भए ‘छोईपासो’ हुने अवस्था छ । सडकमै बनेको ओपन जीम सञ्चालनका लागि स्थानीयले वडा कार्यालयसँग कार्यविधी बनाई दिन माग समेत गरेका थिए । नजिकै रहेको शिव मन्दिर व्यवस्थापन समितिले ओपन जीम प्रभावकारी देखिएकोले आफैं सञ्चालन गर्न ईच्छा समेत देखाएको थियो ।
तर, वडा कार्यालयले त्यसलाई खासै वास्ता गरेन । दाताले बनाएको होस् वा राज्यको बजेट खर्च । सार्वजानिक संरचनाको संरक्षण अभाव हुँदा अहिले झारजंगलले छोपिएको अवस्थामा पुगेको छ । यहाँ १४ प्रकारका जीमका मेशिन छन् ।
त्यहाँको जस्तै विराटनगर–४ इक्राहीस्थित समावेशी टोलमा समेत ओपन जीम निर्माण गरिएको छ । तर, संरक्षण नहुँदा जीम मेशिनका संरचना भत्कन, हल्लिन र मक्किन थालिसकेका छन् । खुल्ला आकाशमुनी गाडीएका सामाग्री पानी र घामका कारण खियाउन थालेका छन् । घेराबेरा छैन । न त जीम गर्ने स्थानमा सफासुग्घर नै छ ।
समावेशी टोलका रमेश गड्तौलाका अनुसार ओपन जीम सञ्चालनमा आएपछि धेरैका लागि सहज भएको छ । अस्पतालमा फिजियोथेरापी गर्नुपर्ने भनिएका बिरामीहरुले निःशुल्क रुपमा सेवा पाईरहेका थिए । बिहान–बेलुका सेवा लिनेको भीड थियो । तर, सञ्चालन व्यवस्थापन नहुँदा त्यहाँका समेत मेशिनहरु हल्लिन थालेका छन् । खिया लागेका छन्, टुटफुट र तोडफोडबाट बचाउने उपाय खोजिएको छैन । स्थानीयवासी सौगात निरौलाले नागरिक हित प्रवद्र्धनका लागि स्थापना गरिएका सार्वजानिक सेवा सञ्चालनका लागि मोडालिटी बनाउनु पर्ने आवश्यकता रहेको बताए । सञ्चालनका लागि स्थानीय सहभागिता गराउन कुनै मेकानिजम बनाए मात्रै सार्वजानिक सम्पतिको संरक्षण हुने उनको भनाई छ । निरौलाले सेवाग्राहीहरुले थोरै रकम तिरेर सदस्य बन्ने, ती सदस्यहरुको पालो निर्धारण गरेर जीमको अवसर दिने, भरसक मेशिनरी सामाग्री प्रयोग जानकारी भएका व्यक्तिमार्फत सिकाउने अवसर हुने हो भने ओपन जीम धेरै प्रभावकारी हुने बताए ।
विराटनगरका विभिन्न सात स्थानमा ओपन जीम सञ्चालनमा रहेका छन् । सञ्चालनमा रहेकामध्ये धेरै ओपन जीम दाताहरुको सहयोगमा निर्माण भएका हुन् । केहि जीम वडा कार्यालयको लागतमा बनेका छन् । जीम स्थापना गर्ने जग्गा सार्वजानिक हो । जीमका मेशिन राख्नका लागि वडा कार्यालयले जग्गा उपलब्ध गराएको छ ।
विराटनगर महानगरपालिका सरसफाई शाखाका प्रमुख पुनम दाहालका अनुसार खुल्ला जीमको अवधारणा राम्रो देखिएको छ । यसरी बनेका धेरै जीमहरु दाताको सहयोगमा स्थापना गरिएका हुन् । विराटनगर–५ त्रिमुर्ती चौकमा लायन्स क्लव शुभम्ले स्थापना गरेको थियो । यसैगरी विराटनगर–२ को मुनालपथ र शनिहाट क्षेत्रमा खुल्ला जीम सञ्चालनमा रहेका छन् । यीमध्ये मुनालपथमा घेराबेरासहित रहेको छ । शनिहाटको जीम उद्योगी देवकीनन्दन अग्रवालको पहलमा स्थापना गरिएको हो । महानगरपालिकाको कार्यालयदेखि केहि पूर्वमा रहेको खुल्ला जीम सबैभन्दा धेरै व्यस्त हुने गरेको दाहाल बताउँछन् ।
विराटनगर–८ हाटखोलामा समेत वडा कार्यालयले खुल्ला जीममा लगानी गरेर स्थापना गरेको छ । विराटनगर–१२ बखरी–दरैया मार्गमा समेत ओपन जीम वडा कार्यालयको लागतमा स्थापना भएको छ । ओपन जीममा भीड लाग्ने गरेपनि त्यसको सञ्चालन व्यवस्थापनका लागि केहि न केहि कार्यविधी जरुरी रहेको धेरैको बुझाई छ ।
विराटनगर–१२ मा ओपन जीम संरक्षण गर्दै आएका कुसेश्वर राजबंशीका अनुसार यहाँ ६ आईटमका मेशिन रहेका छन् । ५ लाख ७५ हजार रुपैया लागतमा स्थापना गरिएको खुल्ला जीमबाट दैनिक लाभान्वित हुनेहरुको संख्या उल्लेख्य छ ।
ओपन जीमको फुल फेज सेवाका लागि १२ प्रकारका मेशिनहरु आवश्यक पर्दछ । सार्वजानिक स्थानमा यी सामाग्री राख्नका लागि १५ लाख हाराहारी बजेट आवश्यक पर्दछ । दाता वा राज्यको रकम खर्चेर बनाइएको जीम संरक्षणमा स्थानीयको सहभागिता नगराउने हो भने केहिवर्ष भित्रै लगानी कवाडीको मूल्यमा परिणत हुने देखिन्छ ।
जीमको आफ्नै विशेषता हुन्छ । यसलाई आफूखुशी गर्नुभन्दा केहि जान्नेहरुबाट गर्दा मात्रै शारिरीक बनोटको आवश्यकता अनुसारको कार्य गर्दछ । शरिरको जुन भागमा यसको प्रेसर पर्नुपर्ने हो त्यहाँ नपरेर अर्को अंग वा भागमा परे उल्टो असर देखिन्छ । यसका लागि महानगरपालिकाले केहि निश्चित शुल्क लिएर बिहान बेलुकालाई अल्पकालिन प्रशिक्षक समेत राखिदिए अझै लाभदायक हुने सुझाव समेत नगरबासीको छ ।