सुजता लिम्बू
विराटनगर । ‘वर पिपलको फेदमा त शनिबार बोक्सीले पूजा गर्छन रे !’ बल्दै गरेको दियो देखाउँदै स्कुल पढ्दा साथीहरुले यसरी अत्यास लाग्दो ढंगले सुनाउने गर्दथे ।
विद्यालयबाट फर्कने क्रममा कहिलकाँही एक्लै हुँदा वर पिपल भएको चौतारा आयो कि हस्याङ–फस्याङ हुँदै दौडिएको बाल्यकालको समयतर्फ ठ्याक्कै ‘बोक्सीको घर ’ चलचित्रले फर्कन बाध्य बनायो । चलचित्रमा पनि वर पिपलको रुख र बोक्सीको आरोप खेपिरहेकी महिलाको सम्बन्ध जोडिएको छ ।
महिलाहरुप्रति साँघुरो मानसिकता राखेर हुर्किदै गरेको नेपाली समाजमा बोक्सीको आरोपमा भोग्नु परेको दव्र्यवहारलाई चलचित्रले पस्कन खोजेको छ । बालविवाह, बेमेल बिवाह, यौन हिंसा त्यसपछि बेक्सिको आरोप हामीले बाँचेको समाजमा एउटी महिलाले बेहोरेको कष्टकर जीवनलाई चलचित्रको मध्यमबाट खोतल्न खोजिएको छ । रङ्गमकर्मी सुलक्षण भारतीद्धारा निर्देशित चलचित्र बोक्सीको घर नाटकलाई चलचित्रमा रुपान्तरण गरिएको हो ।
विवाह किन गरिन्छ ? विवाहको अर्थ के हो ? प्रश्नको घेराबन्दीमा परेकी जुनकरीको आफूभन्दा पनि ठूलो उमेरको केटासँग बिवाह हुन्छ । पढाइमा अब्बल भएकी जुनकिरी आमाको मात्रै प्रेममा हुर्किएकी हुन्छिन् । बाल्यकालमा रविसँग बसेको प्रेम, पढेर पत्रकार बन्ने सपनाहरु विवाहसँगै उनको सपनाको समाधि बनिदिन्छ ।
जुनकिरीको भूमिका निर्वाह गरेकी बालकलाकार सुपला सापकोटाको अभिनयमा कुनै खोट लगाउने ठाँउ छैन । उनै जुनकिरी हुर्कदै गएपछि केकी अधिकारी जुन बोक्सीको आरोपको सामना गरिहेकी हुन्छिन् । श्रीमानको मृत्यु पश्चात सासुले घर निकाला गरेपछि गोठमा ओत लाग्न पुगकी केकी (जुनकिरी) ससुराबाट नै यौन हिंसाको शिकारमा पर्छिन् । आफ्नो गल्ति लुकाउन बोक्सीको आरोप खोप्न बाध्य भएकी जुनकिरी अर्थात केकी अधिकारीको अभिनय दमदार छ । तर, चलचित्र एउटै रफतारमा बग्न सकेको छैन ।
बाल्यकालसँगै हुर्किएको जनुकिरीको परिवेश र परिस्थितिलाई पिपलको फेदमा बोक्सीको आरोप समाना गरिहेकी ठूली भइसकेकी जुनकिरीसँगै पर्दामा उतार्न खोज्दा दर्शकहरु अलमलिएको झैँ महसुस गर्न सकिन्छ ।
नाटकले चलचित्रको स्वरुप नपाउँदा पनि देखिएका दृश्यहरुमा दर्शक ‘कन्फ्युज ’ भएको हुनसक्छ । । बोक्सीको कथा सुनेर खोजमुलक रिपोर्टिङका लागि पत्रकारको भूमिकामा प्रस्तुत भएकी स्वेच्छा राउतको अभिनयले पत्रकारलाई न्याय दिएको छ भन्दा फरक नपर्दो हो ।
रिपोर्टिङ गर्दागर्दै समाजले उनै पत्रकारलाई समेत बोक्सी विद्या सिकेको आरोप लगाउन भ्याइसकेका हुन्छन् । तर, हिम्मत नहारी जुनकिरी (बोक्सीको आरोप खेपेकी महिला) को छेउमा पुगेर उनको कथा सुन्न पुग्छिन् । समाजलाई उनी पनि समान्य मान्छे हुन् भन्ने परिभाषा दिँदा पनि कोही सम्झन र बुझ्न चाहादैनन्।
समाजमा घटेका तिता घटनाहरुलाई चलचित्र मार्फत पढाउन खोजिएको छ । बोक्सी होइन, समान्य मान्छे हो भन्ने परिभाषित गर्न खोजिएको छ । तर, हुँदै होइन भन्ने चलचित्रले शन्देश दिन सकेको छैन । एउटी बोक्सी आरोप खेपिरहेकी महिलाको जल, जमिन देवता, सम्बन्धसँग आत्मा जोडिएको हुन्छ ।
तीनै महिलालाई जबर्जस्ती बोक्सी बनाउने परिवारले सजाय पाउछन् वा पाउदैनन् ? बोक्सि बन्न बाध्य भएकी ति निर्दोष महिलाले न्याय पाउछिन् या पाउदनिन् ? सिंगो समाज नै उल्टिएर बोक्सी आरोप लागेकी जुनकिरीलाई जिउँदो लास बनाउने समाज कानुनी हिसाबले दोषि हुन कि होइनन् ? चलचित्रको समापनपछि दर्शकले एकआपसमा सोध्ने प्रश्न पनि यीनै हुन्छन् । र निर्देशकले पर्दाभित्र छुटाएको महत्वपूर्ण पाटो पनि यीनै हुन् ।