विराटनगर । विराटनगरामा आगामी हप्तादेखि अभियानकै रुपमा कोशी राजमार्ग अन्तर्गत बरगाछी–रानी सौन्दर्यकरण सुरु गरिने भएको छ । सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी ५ किलोमिटर दुरीको मेडियन स्ट्रिप्समा बिरुवा तथा फूल रोपेर सौन्दर्यकरण गरिने भएको हो ।
महानगरपालिकाको यो परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाले सहयोग गर्ने भएका छन् । बैंकले प्रतिबद्धता जनाएअनुसारको रकम जम्मा गर्न सुरु गरिएको छ ।
पहिलो चरणमा सोमबार चारवटा बैंकले ७ लाख ५० हजार रकम जम्मा गरेका छन् । मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई बैंकहरूले रकमको चेक हस्तान्तरण गरेपछि सौन्दर्यकरणको काम आगामी हप्तादेखि सुरु गर्दै गर्ने निर्णय गरिएको हो ।
बैंकर्स एसोसिएसन कोशी प्रदेशका अध्यक्ष सन्तोष बुढाथोकीसहितको टोलीले चेक हस्तान्तरण गरेका हुन् । एनएमवी बैंकका प्रदेश प्रमुखसमेत रहेका बुढाथोकी, एनआईसी बैंकका हिरा पौडेल, एनआईएमवीका राजीव गजुरेल, नेपाल बैंकका सूर्यप्रकाश भट्ट, ग्लोबल आइएमई बैंकका सुलभहरि जोशीलगायतले आ–आफ्नो बैंकका तर्फबाट उपलब्ध रकमको चेक हस्तान्तरण गरेका छन् ।
महानगरले दुई महिना अघि सार्वजनिक निजी साझेदारी अवधारणा बमोजिम सौन्दर्यकरण परियोजना बढाउने निर्णय गरेको थियो । त्यसका आधारमा छलफल आयोजना गरेर बैंकर्स एसोसिएसनका प्रदेश अध्यक्ष बुढाथोकीको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरेको थियो । प्राविधिकसहितको सो समितिले लामो अध्ययन गरी फूल र विरुवाको जात, लागत अनुमानलगायत समेटेर महानगरलाई प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनका आधारमा सौन्दर्यकरण कार्य गरिने दावी गरिएको छ । महानगर एक्लैले विराटनगर बनाउन असम्भव भएकाले यहाँ रहेका बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण गर्न आह्वान गरिएको हो । विराटनगरमा प्रदेश कार्यालय र शाखा कार्यालय भएका बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गरिरहेका हुन्छन् । महानगरपालिकाले यसपटक सडक सौन्दर्यकरणका लागि सहयोग मागेको हो ।
पाँचकिलोमिटर लम्बाई रहेको विराटनगर बरगाछी–रानी सडकमा ४६ वटा मेडिएनका ब्लक रहेका छन् । सौन्दर्यकरण अभियानको संयोजन सरसफाई शाखा प्रमुख पुनम दाहालले गरिरहेका छन् । सडक सौन्दर्यकरण गर्न ५५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । अनुमान गरिएको रकम माटो मिलाउने, विभिन्न जातका फूल तथा विरुवा रोप्ने, घेराबार गर्ने, पानी पटाउन ट्यांकर खरिद गर्ने, दुईजना मालीको व्यवस्थापन गर्ने, एक वर्षसम्म अन्य समग्र व्यवस्थापनका लागि खर्च गरिनेछ ।
महानगरले गठन गरेको समितिले ‘क’ वर्गका बैंकका लागि २ लाख, ‘ख’ वर्गका लागि १ लाख ५० हजार, ‘ग’ वर्गका लागि १ लाख र ‘घ’ वर्गका बैंक र लघुवित्त संस्थाहरूका लागि ५० हजार रुपैयाँ निर्धारण गरेको थियो । सोही समितिले निर्धारण गरेको रकममध्ये बैंकहरूले रकम जम्मा गर्न सुरु गरेका हुन् । सो परियोजनाका लागि छुट्टै बैंक खाता सञ्चालनमा ल्याइएको दाहालले बताउनुभयो । प्रदेश राजधानीसमेत रहेको विराटनगरमा ४२ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् ।
परियोजनालाई पारदर्शी बनाउन महानगरले उद्योगी तथा समाजसेवी वेनिगोपाल मुन्दडाको संयोजकत्वमा ९ सदस्यीय उपभोक्ता समितिसमेत गठन गरेको छ । सो समितिले जनसहभागिता गराएर आगामी हप्तादेखि परियोजनालाई अगाडि बढाउनेछ ।