विराटनगर । प्रि–मनसुनमै रुपन्देहीको बुटबल बजार जलमग्न भएपछि त्यसले विराटनगरवासीलाई पनि झस्कायो । विराटनगर महानगरपालिकाको १, २, ४, ५, ६, ७ ८, ११, १२, १४, १६, १८, १९ नम्बर वडाका झण्डै छ हजार नगरवासी बाढीको जोखिममा रहेको तथ्यांक छ । संभाव्य प्रकोपको आंकलन तथा संभावित प्रभाव क्षेत्रको नक्साङकनमा समेटिएका यी वडाहरु वर्षेनी डुबान प्रभावित क्षेत्रमा पर्दछ । यी वडाको डुबानमा केशलिया र सिंघीयामा आएको बाढी कारण बन्ने गरेको छ । बाढी र डुबानकै कारण व्यक्तिको निधन भएको तथ्यांक नभएपनि घरपरिवार विस्थापित हुने र धनको क्षति वर्षेनी बढ्दो छ ।
निकास बिनाको सडक पूर्वाधारको विकासले विराटनगरमा वर्षाको समय नगरवासीका लागि उतिसारो सहज भने हुँदैन । सडकमा पानी भरिएर जलमग्न हुने, वस्ती र घरहरुमा पस्ने गर्दछ । यो समस्या न्यून गर्न महानगरपालिकाको सरसफाई शाखाले काम गरिरहेको छ । प्राविधिक रुपमा बनेका नालाको सफाई गरेर पानीको निकासमा सहजीकरण गरिरहेको सरसफाई शाखाले भने निर्माणमै त्रुटी रहेको औल्याएको छ । शाखाका प्रमुख एवं विराटनगर महानगरपालिकाका पुराना कर्मचारी पुनम दाहालले प्राविधिक त्रुटीकै कारण आकाशमा परेको पानी नालाबाट सकडमा, सडकबाट घरमा प्रवेश गर्ने गरेको दावी गरेका छन् ।
उनका अनुसार सरसफाई नभएर निकास नहुने कारण भन्दा ‘क्याचमेन एरिया’ (सेवा क्षेत्र) अनुसार पानी निकाल हुने नाला निर्माण नहुँदा निकासमा समस्या परिरहेको दावी गरे । उनका अनुसार हाईवे पश्चिम बरगाछीदेखि दक्षिण केशलियासम्मको भू–भागमा जम्मा भएको पानीको निकास केशलियाबाट खोलामा पुग्छ । त्यति धेरै क्षेत्रको पानी बगेर आउँदा निकास हुने नाला भने सानो हुँदै आएको छ । उनले भने–माथिल्लो क्षेत्रमा नाला ठुलो छ, जहाँ पानीको बहाव बढ्दै जान्छ त्यहाँ सानो छ । उनले सुनसरी–मोरङ सिंचाई आयोजनाको नहरमुनी राखिएको होम पाइपमा समेत पानी नअटेर फर्कने र त्यो पानी वस्तीमा पस्ने गरेको दावी गरे ।
उनले बाढी प्रभावित क्षेत्रको रुपमा वडा नम्बर १ र २ को पनि त्यहि समस्या औंलाएका छन् । उनका अनुसार पुष्पलाल चौकबाट राधाकृष्ण मन्दिरसम्म आउँदा नालाको चौडाई ठुलो छ । राधाकृष्ण मन्दिरबाट पूर्वतर्फ सिंघीया खोलामा पानीको निकास हुने नाला सानो छ । खोलामा निकास हुने नालाहरु सबै साना र मुख्य सडकका नाला ठुला हुँदा पानीको वहाव थेग्न नसक्दा सडकमा निस्कन्छ । त्यहि पानी बस्तीमा पस्छ र घर डुबाउँछ । उनको अर्को तर्क अनुसार शहरी क्षेत्रमा केशलिया र सिंघीयाको तटीय क्षेत्र साँघुरो छ, त्यहि क्षेत्र माथिल्लो भू–भागमा खुल्ला छ । माथिबाट समेटिदै आएको पानी र शहरी क्षेत्रको कंक्रिट घर र सडकको पानी खोलामा पुग्दा त्यसले वहाव थेग्न सक्दैन । वर्षेनी तटीय आसपासका क्षेत्र सधैं प्रभावित हुन्छन् ।
सरसफाई शाखाले बनिसकेको नालामा जमेको फोहोर र माटो झिक्ने काम गरिरहेको बताउँदै उनले नगरवासीको पनि उतिकै भूमिका हुने बताए । नाला थुनेर निर्माण सामाग्री राख्ने, घरमा उत्पादन भएको फोहोर नालामा हाल्ने, घरको फोहोरजन्य पानी ल्याएर नालामा मिसाउने जस्ता काम नगर्न उनको अनुरोध छ । दाहालले नाला थुनिएको भए खरब गर्दा सफाई हुने बताउँदै भने–पानी परेको दुई घण्टापछि निकास भईसक्नुपर्ने अन्य विकसित देशको मान्यता छ, नेपालमा चार घण्टासम्ममा पनि वर्षात्को पानी नालाबाट निकास नभए त्यहाँ त्रुटी छ भन्ने बुझ्नुपर्दछ । उनको यो विश्लेषणले विराटनगर महानगरपालिकामा निर्माण भएका नालाले पानीको वहाव थेग्न सक्दैन । पानीको निकासका लागि आवश्यक पर्ने स्थानबाट थप नाला निर्माण गर्नुपर्ने हुन्छ ।
विराटनगर महानगरपालिका शहरी पूर्वाधार महाशाखा प्रमुख एवं इन्जिनियर अर्जुन थापा भने नाला निर्माणमा त्रुटी भन्दा पनि नाला निर्माणको काम सम्पन्न भईनसक्दाको अवस्थाले डुबान हुने गरेको बताउँछन् । उनका अनुसार दुध फारमसहितको पानी पुष्पपाल दक्षिण ल क्याम्पस भएनेरबाट सिंघीयामा जाने निकास रहेको छ । बरगाछी एरियाको पानी डिपिएस स्कूल हुँदै बनेको ड्रेनेजबाट केशलिया खोलामा र एयरपोर्ट दक्षिणको पानी वस्तामा जाने गरेको छ ।
विराटनगरको मुख्य समस्या भनेको हाईवे पूर्व–पश्चिम क्रसिङ नहुनु रहेको उनको बुझाई छ । हाईवे पूर्वको पानी पश्चिमतर्फ निकास गराउन सकिदैन भने पश्चिमतर्फको पानी पूर्वतर्फबाट निकास दिन नसक्ने अवस्था रहेको छ । विराटनगरको माथिल्ला क्षेत्रदेखि उत्पादन भएको पानी खोला हुँदै दक्षिणी क्षेत्रमा आउँदा त्यसको मार सबैभन्दा धेरै पर्ने गरेको इन्जिनियर थापा बताउँछन् ।
उनले त्यसका लागि समेत अहिले विराटनगर–१५ मा हाईवेसँगै जोडिएर ३.५ किलोमिटर नाला निर्माणको योजना राखिएको छ । यसको काम अब अगाडी बढाउने योजना राखिएको छ । यसैगरी विराटनगर–१८ मा पानीको निकासका लागि समेत केहि कामहरु भईरहेको थापा बताउँछन् । ‘उहाँ (दाहाल) ले कसरी विश्लेषण गर्नुभयो, नाला निर्माणमा त्रुटी भएर निकास नभएको जस्तो लाग्दैन, बरु आवश्यक मात्रामा नाला निर्माण गरिनसकेर समस्या हुन्छ’ । थापाले पछिल्लो समय डुबानको समस्या समेत धेरै हल भईसकेको बताउँदै थापाले आगामी केहिवर्षमा विराटनगर महानगरपालिका क्षेत्रमा धेरै सुधार हुने विश्वास व्यक्त गरे ।