काठमाडौं । केन्द्रीय तथ्यांक कार्यालयले राष्ट्रिय जलवायु परिवर्तन सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रममा सार्वजनिक प्रतिवेदनले नेपालमा जलवायु परिवर्तनको दुष्प्रभाव क्रमिक पृद्धि भइरहेको देखाएको छ ।
हिमाल, पहाड र तराईको वस्तुस्थितिमा आधारित प्रतिवेदन संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को सहयोगमा तयार पारिएको कार्यालयले जनाएको छ । २९ जिल्लाका ६ हजार ५ सय घर परिवारमा पुगेर तयार पारिएको प्रतिवेदन प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेल र नेपालस्थित युएनडीपीका आवासीय उपप्रमुख जुलियन सेभिलार्डले सार्वजनिक गरेका हुन् ।
कम्तीमा २५ वर्ष एकैस्थानमा बसोबास गर्दै आएका ४५ वर्षमाथिका सर्वसाधारणलाई सोधिएको प्रश्नावलीका आधारमा तयार प्रतिवेदनले कृषि प्रणाली, वन र पानीमा जलवायु परिवर्तनको असरहरु कसरी बर्सेनि बढेका छन् भन्ने अभिलेख गरेको छ । प्रमुख तथ्यांक अधिकारी पोखरेलले जलवायु परिवर्तनको असरबारे जानकारी पाएर यसमा आधारित रही नीतिनिर्माण गर्न सहयोग पुग्ने बताए ।
युएनडीपीका उपप्रमुख सेभिलार्डले प्रतिवेदनले सरकारी निकायसँगै विकास साझेदार र गैरसरकारी संस्थाहरुलाई नीति निर्माणसँगै कार्यक्रम छनोटमा सहयोग हुने भनाइ राखे । मुलुकमा घट्दो कृषि उत्पादनको कारक जलवायु परिवर्तन पनि रहेको प्रतिवेदनमा छ । खडेरी, बाढी, पहिरो, वन अतिक्रमण र डढेलो, भूक्षय, रासायनिक मल एवं विषादीको अधिक प्रयोग लगायतका विभिन्न कारणले तापक्रम बढ्दा जलवायु परिवर्तनको असर क्रमिक देखिएको प्रतिवेदनमा उल्लेख छ ।