इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले कोशी अस्पताल भवन निर्माण गरिरहेको कन्ट्रक्सन कम्पनीका गाडी रोकिदिएको छ । माटो व्यवस्थापनमा ध्यान नदिएको भन्दै कोशी परिसरबाट माटो बोक्ने गाडी रोकिदिएको हो ।
महानगरपालिकाको सरसफाई शाखाले कन्ट्रक्सन कम्पनीलाई चारवटा बुँदामा गर्नुपर्ने कामको विवरण उल्लेख गर्दै पत्र नै पठाएर तत्कालका लागि माटो बोक्न रोक लगाई दिएको छ । सरसफाई शाखाका प्रमुख पुनम दाहालका अनुसार माटो लोड भएका गाडी कालोपत्रे सडकमा गुड्दा पोखिएको माटोले धुलोमय बनेपछि स्थानीयले महानगरपालिकामा दवाव दिदै आएका छन् । सरसफाई शाखाले एक पटक आफैं धुलो बढारेपनि त्यसपछि समेत बारम्बार उहि प्रकृतिको काम दोहोरिएपछि तत्काललाई रोक लगाइएको हो ।
महानगरपालिकाले कन्ट्रक्सन कम्पनीलाई चारवटा बुँदामा शर्तहरु पालना गर्न भनेको छ । माटो बोक्ने तथा निर्माणजन्य सामाग्री लिएर गएका गाडीहरु फर्कने क्रममा चक्कामा लागेको माटो ननिस्कने योजना बनाउन, सडकको हिलो तथा धुलो हरेक दिन बिहान ८ बजे भित्र सरसफाई गरेर पानी हाल्न, नालामा हिलो पसेकोले त्यो सफा गर्न, माटो बोक्ने सवारीको रुट तथा समय तालिकासहित जानकारी दिन भनेको छ ।
माटो निकाल्न तथा निर्माणजन्य सामाग्री बोकेका गाडीहरुका लागि यी शर्त पुरा गराउन भन्दै महानगरपालिकाले पत्र लेख्दा समेत वेवास्ता भएपछि सडकका गाडी गुड्न रोक लगाएर रोकिदिएको छ । कन्ट्रक्सन कम्पनीका गाडी रोकिदिएपछि शुक्रबार कार्यालयमा उपस्थित हुने भएको छ । अस्पताल भवन निर्माणको क्रममा निस्किएको माटो ब्यवस्थापन गर्न बाहिर पठाउने गरिएको छ । टन्टलापुर घामले गर्मी भएपछि सडकमा छरिएको माटो धुलोको रुपमा उड्दा स्थानीयलाई समस्या हुने गरेको छ । बारम्बार ध्यान आकर्षण गराउँदा समेत नमानेपछि भवन निर्माणस्थलमा आउजाउ गर्ने सवारी नै रोकिदिनु परेको दाहालले बताएका छन् ।