इन्दु साह
विराटनगर । मोरङ कारागारबाट ६ जना कैदीले दुई तिहाई कैद सजाय भुक्तान गरेपछि छुटेका छन् । फौजदारी कसूरमा रहेका उनीहरुको कैद भुक्तानको क्रममा आचरणमा सुधार आएपछि छुटेका हुन् ।
फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा २९ को (१) बमोजिम एक वर्ष भन्दा बढि कैद सजाय पाई कैद सजायको दुई तिहाइ अबधि भुक्तान गरिसकेका कैदीहरुको आचरणमा सुधार आएमा कसुरदारलाई सम्बन्धित प्यारोल बोर्डको सिफारिसमा जिल्ला अदालतले छोड्ने गर्दछ ।
जिल्ला अदालतका न्यायाधीशले प्यारोलमा राखेर आदेश दिन सक्ने व्यवस्था अनुसार कसुदारलाई तारेखमा छोडिएको हो । २०८१ साल देखि नेपालका विभिन्न जिल्ला अदालतमा प्यारोल कार्यान्वयनमा आएको छ । प्यारोलमा छोडिएका कसुरदारले एक वर्ष भन्दा बढी कैद सजाय पाई कैद सजायको दुई तिहाइ अबधि भुक्तान गरिसकेको हुनुपर्ने छ । कारागारमा रहँदा राम्रो आचरण भएको आधार मानेर छोड्न थालिएको हो । कैदीलाई प्रोवेशन तथा प्यारोलमा राख्ने मापदण्ड तथा कसुरदारले पालना गर्नुपर्ने शर्तहरु सहित विराटनगर कारागारबाट शुक्रवार छ जना कैदी छुटेका छन् । प्यारोल झापा, उदयपुरमा लगाएतका विभिन्न जिल्लामा कार्यान्वयनमा छ ।
फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यन्वयन) ऐन,२०७४ को दफा ३९ को उपदफा (१) को खण्ड (ख) तथा (ग) ले दिएको अधिकार प्रयोग गरी कैदीलाई प्रोवेशन तथा प्यारोलमा राख्ने मापदण्ड कसुरदारले पालना गर्नुपर्ने शर्तहरु , २०८० कार्यान्वयन मार्गदर्शन छ । संघीय प्रोवेशन तथा प्यारोल वोर्डले मार्गदर्शन बनाएसँगै यसको अभ्यास हुन थालेको हो । मोरङ जिल्ला अदालतको आदेश र प्यारोल अधिकृतले तयार गरेको शर्तनामा अनुसार २७ देखि ३७ वर्ष उमेर समुहका युवा छुटेका हुन् ।
लागुऔषध मुद्दामा कारागार चलान भएका उनीहरुले दुई तिहाई सजाए भुक्तान गरिसकेका छन् । मोरङ कारागारका प्यारोल अधिकृत तथा कारागार प्रशासक चेतराज बरालका अनुसार प्यारोल बोर्डको सिफारिसको आधारमा अदालतले फैसलासहित अनुमति दिन्छ । अदालतको फैसलापछि कारागार कार्यालय मोरङका प्यारोल अधिकृतले शर्तनामा बनाएर उनीहरुलाई छोड्ने गर्दछ । प्यारोलमा कारागारबाट बाहिर निस्केनेलाई महिनाको दुई दिन कारागारमा अनिर्वाय उपस्थित हुनुपर्ने हुन्छ । कैदीलाई छोड्नु पूर्व मापदण्ड अनिवार्य पुरा गरेको हुनुपर्दछ । फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा २९ को उपदफा (१) बमोजिम प्यारोलमा ५ वर्ष कैद तोकिएकोमा ८२.५५ प्रतिशत कैद अवधि भुक्तान गरिसकेको हुनुपर्ने छ ।
कारागारमा रहँदा चालचलन असल रहेको हुनुपर्दछ । प्यारोलमा राख्न नसकिने कसूरमा नपरेको हुनुपर्छ । कैदीलाई प्रोवेशन तथा प्यारोलमा राखे मापदण्ड तथा प्रोवेशन तथा प्यारोलमा छुटने कसूरदारले पालना गर्नुपर्ने शर्तहरु २०८० बमोजिम तोकिएको छ । जसमा मापदण्ड र शर्तहरु पालना गर्न प्रतिवद्धता जनाउनु पर्दछ । प्यारोल प्रक्रियाबाट कारागार बाहिर तारेखमा बस्दा नियमित रुपमा प्यारोल अधिकृतको सम्पर्कमा रहने, भविष्यमा फौजदारी कसुर नगर्ने प्रतिवद्धता, अदालतबाट तोकिएको जरिवाना रकम दाखिला गर्ने, सम्बन्धित प्यारोल अधिकृतले खोजेको समयमा उपस्थित हुन मज्जुर जनाउनु पर्दछ ।
आफु बसोबास गर्ने ठेगाना तथा सम्पर्क नम्बर प्यारोल अधिकृतलाई उपलब्ध गराउनु पर्दछ । यसरी छुट्नेहरुले अनुमति नलिई आफु बसोबास गरेको स्थान भन्दा अन्यत्र नजाने मन्जुर हुनुपर्दछ । काम गर्ने स्थान परिवर्तन भएमा त्यसको जानकारी प्यारोल अधिकृतलाई गराउन मञ्जुर हुनुपर्दछ । मुद्दाको विषयमा कुनै कुरा राखु पर्ने भएमा वा आफु विरुद्ध वारेन्ट जारी भएमा प्यारोल अधिकृतलाई जानकारी गराउने, प्यारोल अधिकृतले दिएको निर्देशन पालना गर्ने पूर्व जानकारी नगराई आफु बसोवास गरेको जिल्ला छोडी अन्य जिल्ला वा साथमा हातहतियार तथा अवैध सामान नराख्ने कुरामा समेत प्रतिवद्धता जाहेर ग र्नुपर्ने हुन्छ ।
प्यारोलमा नपर्ने कैदी जन्म कैदको सजाय पाएको, भ्रष्टाचारको कसुरमा सजाय पाएको, जर्बरजस्ती करणीको कसूरमा सजाय पाएको, तेजाब तथा अन्य ज्वलनशील पदार्थ या अन्य घातक रासायनिक पदार्थ प्रयोग गरी ज्यान मारेको, अङ्गभङ्ग गरेको कसुरमा सजाय पाएको, मानव बेचविखन तथा ओसार पसार सम्बन्धी कसूरमा सजाय पाएको, सङ्गठित अपराध सम्बन्धि कसुरमा सजाय पाएको, सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा सजाय पाएको, यातना वा क्रुर, निर्मम, अमानवीय वा अपमानजनक व्यवहार सम्बन्धी कसुरमा सजाय पाएको, मानवत्ता विरुद्धको अपराध सम्बन्धी कसूरमा सजाय पाएको, राज्य विरुद्धको अपराध सम्बन्धी कसूरमा सजाय पाएको लगायतका विषय प्यारोलमा राख्न पाईने छैन । प्यारोल प्रक्रियामा छनोट भएर तारीखमा बाहिर आएकाको कैद अवधी भुक्तान हुनसाथ कारागाराले थुनामुक्त गरिएको पत्र सम्बन्धित व्यक्तिलाई दिने गर्दछ ।