विराटनगर । दुर्घटना न्यूनीकरणमा ट्राफिक नियमको पालना पहिलो शर्त हुन्छ । ट्राफिक नियम पालना गरेर सवारी चलाउने चालकले भईपरी आउने बाहेक हम्बेसी दुर्घटना गराउँदैन भनिन्छ ।
सवारी दुर्घटनाका विभिन्न कारण छन् । जसमा पुराना सवारी साधनको प्रयोग, चालकको लापरवाही, सडकको दुरावस्था, कमजोर ट्राफिक नियम र फितलो अनुगमन, सवारी प्रयोगकर्ता, यात्रु र चालकका काम नै संभावित दुर्घटनाका कारण बन्ने गरेका छन् । विराटनगर बसपार्कमा ओबी मिडिया प्रा.लि.ले मंगलबार आयोजना गरेको सडक दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना कार्यक्रममा बोल्ने अधिकांश वक्ताले प्रत्येक नागरिक सचेत भए मात्रै सवारी दुर्घटनामा कमी आउने धारणा राखेका छन् ।
कार्यक्रममा मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले आफैं चालक भएपनि कमजोरी अरुको मात्रै देख्ने समस्या रहेको बताए । उनले मोटरसाइकल, कार, जीप, ट्याक्टर, ट्रक, ट्याङकर, बस वा अन्य कुनै पनि प्रकारका सवारीको स्टेरिङ हातमा हुँदा मैले के गर्ने भन्ने जिम्मेवारी बोध हुन आवश्यक रहेको बताए । चालक भएको बेला कसरी ट्राफिक नियम छल्ने भन्ने मनसाय प्रेरित हुँदा दुर्घटना बढी रहेको प्रहरी प्रमुख कार्कीको भनाई छ । सडकहरुको तिव्र विकास भईरहेको भएपनि दुर्घटनामा कमी आउन नसक्नुमा स्वकारण हावी हुने गरेको उनको विश्लेषण छ ।
सवारी चालकमा ट्राफिक नियमको ज्ञान अभाव, सडक सुरक्षामा जनचेतनाको कमी, कसुर र सजायमा अस्पष्टता, अव्यवस्थित पार्किङ प्रणाली, ट्राफिक संकेतको अभाव, ट्राफिक फर्निसिङ नहुनु, सडक सुरक्षा कार्ययोजनाको प्रभावकारी कार्यन्वयन अभाव झेलिरहेको सन्दर्शमा दुर्घटनाबाट मृत्यु हुनेको संख्या दैनिक बढिरहेको छ ।
विराटनगर महानगरपालिका नगर प्रहरी निरीक्षक राजन पौडेलले सहरी क्षेत्रमा बढ्दै गएका सिटी सफारीका कारण सडक साँघुरो बनिरहेको बताए । उनले विराटनगरमा दुई हजार सिटी सवारी दर्ता छन् । तर, सहरमा ३ हजार ५०० सिटी छन् । त्यस बाहेक महानगर आसपासका स्थानीय तहमा स्थायी ठेगाना भएर विराटनगर केन्द्रीत सिटी चलाउनेहरुको संख्या दश हजार पुगिसकेको छ । जसको भार महानगरपालिकाको ट्राफिक व्यवस्थापन र सहर सौन्दर्यकरणमा परिरहेको छ ।
ट्राफिक प्रहरीको केन्द्रीय तथ्यांक अनुसार सवारी नियम पालना गर्दा गत वर्ष मात्रै तिव्र गतिका कारण ४० हजार बढी दुर्घटना भएका थिए । यसमा चालकको औपचारिक तालिम अभाव प्रमुख मानिएको छ । तर, वर्षेनी एक हजार बढी पैदल यात्रुको मृत्यु सवारी दुर्घटनाबाट हुने गरेको तथ्यांकले सडक संरचना यात्रुमैत्री नहुनुले पनि दुर्घटना हुने गरेको देखाउँछ ।
सुनौलो पूर्व नेपाल यातायात सेवा प्रा.लि.का अध्यक्ष एवं यातायात व्यवसायी राजन कँडेलले चालक मात्रै कारक बनेर दुर्घटना नहुने दावी गर्दछन् । उनले सडक संरचना, सडक सीमा क्षेत्र भित्र लाग्ने हाट बजार, सवारी नियमको पालनामा कमजोर व्यवस्थापन रहेको बताएका छन् ।
कोशी प्रदेशमा विगत दशवर्षको अवधीमा मात्रै ३३ हजार ३०७ सवारी दुर्घटना हुँदा ४ हजार १६३ जनाको निधन भएको छ । दुर्घटनाका कारण १० हजार ७१८ जना गम्भीर र २७ हजार ५७५ सामान्य घाईते भएको तथ्यांक छ । सवारी दुर्घटनामा भएको यो क्षति न्यूनीकरणका लागि संभावित जोखिममा देखिएका सवारीहरुको नियमनमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
जिफन्ट कोशीका अध्यक्ष किशोर धमलाले सडक संरचनाको तुलनामा सवारी संख्या अधिक भईरहेको बताए । उनले सरकारले करको आसामा सवारी आयात बढाउँदा त्यसलाई आवश्यक पर्ने संरचना निर्माणमा ध्यान नदिएको आरोप लगाएका छन् । उनले सार्वजानिक सवारी साधनको संख्या अधिक हुँदा प्रतिस्पर्धाका नाममा दौडने सवारीका कारण दुर्घटना जोखिम बढी रहेको बताएका थिए ।
दशवर्षको अवधीको तथ्यांकमा सबैभन्दा बढी साना सवारीको दुर्घटना भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा बढी ५३ प्रतिशत मोटरसाइकल दुर्घटनामा परेका छन् । जीप र कारकाु दुर्घटना १२ प्रतिशत, साना सवारी ९ प्रतिशत, टेम्पो ६ प्रतिशत, ट्याक्टर, बस, ट्रक ६ प्रतिशत दुर्घटना भएका छन् ।
यो तथ्यांकले चालक भनेर बस वा ट्रकका मात्रै नभई मोटरसाइकल चलाउनेलाई पनि बुझाउँछ । सबैभन्दा धेरै दुर्घटना हुने साना सवारीका चालक पनि उतिकै सचेत हुनुपर्ने देखिन्छ । नेपालमा प्रतिएकलाखमा १७ जनाले सवारी दुर्घटनाबाटै ज्यान गुमाउने गरेको तथ्यांक छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकमा समेत सरुवा रोग, मुटुरोग र क्यान्सरपछि सडक दुर्घटना मृत्युको चौथो हिस्साको कारक मानेको छ । नेपालमा मृत्यु हुनेमध्ये ७ प्रतिशत दुर्घटनाबाट हुने गरेका छन् ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा आयोजित छलफल कार्यक्रममा यातायात क्षेत्रमा आएका विभिन्न समयका ऐन, नियम, निर्देशिका तथा कार्ययोजनाहरु, यातायात व्यवस्थापनमा जिम्मेवार पक्ष, सवारी दुर्घटना हुने कारण पहिचान र विश्लेषण, सडकको अवस्था सम्बन्धी समस्या, सवारी चालक सम्बन्धी समस्या, यात्रु, पैदलयात्री तथा सर्वसाधारण सम्बन्धी समस्या, ट्राफिक प्रहरी सम्बन्धी समस्या, सवारी धनी सम्बन्धी समस्या, संस्थागत एवं अनुगमनसँग सम्बन्धित कारण, कानुन कार्यान्वयन समस्याका कारण समेटेर ओबी सम्पादक नवराज कट्टेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।