विराटनगर । नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसका अवसरमा प्रेस युनियन कोशी प्रदेश समितिले सञ्चारकर्मीहरूबीच खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।
यही जेठ १० गते बिहीबार महिला-पुरुष सञ्चारकर्मीहरुबीच दौड प्रतियोगिता हुन लागेको हो । ‘सक्रिय पत्रकारिताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि नियमित व्यायाम र आहारबिहार’ भन्ने नाराका साथ दौड प्रतियोगिता आयोजना गरिएको युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदितले जानकारी दिए ।
बिहान ६ बजे विराटनगरस्थित महेन्द्रचोकबाट सुरु हुने दौड प्रतियोगिता बरगाछी उत्तरमा अवस्थित होटल मनास्लु ईनमा पुगेर समापन हुनेछ । दौड प्रतियोगिताको दूरी २३ सय मिटर रहेको छ । महिला र पुरुष दुवै विधामा हुने प्रतियोगिताका विजेतालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी हुन सबै सञ्चारकर्मीलाई अध्यक्ष नवोदितले आह्वान गरेका छन् । प्रतियोगितामा सहभागिताका लागि सञ्चारकर्मीहरुले धमाधम नाम दर्ता गराइरहेको महासचिव संजीव वाग्लेले जानकारी दिए । दौड प्रतियोगिता सम्पन्न भएपछि होटल मनास्लुमा आयोजित विशेष समारोहमा विजेतालाई पुरस्कार प्रदान गरिनेछ । युनियनले सोही दिन स्थापना दिवसका अवसरमा अग्रज पत्रकार सम्मान, ‘प्रदेशको स्थायित्व र विकासमा सञ्चारकर्मीको भूमिका’ विषयक विचारगोष्ठी, युनियनका केन्द्रीय अध्यक्षको उपस्थितिमा प्रदेश भेला आयोजना हुने नवोदितले बताए । प्रदेश भेलामा १४ वटै जिल्लाका अध्यक्ष, युनियनबाट निर्वाचित महासंघका जिल्ला अध्यक्ष, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने युनियन र महासंघका पदाधिकारी र सदस्यलगायतको सहभागिता रहने अध्यक्ष नवोदितले बताए ।