काठमाडौं । सरकारले स्वास्थ्य मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आधारभूत र आकस्मिक स्वास्थ्य सेवालाई सर्वशुलभ र गुणस्तरीय बनाउन सरकारले बजेटमार्फत १५ अर्ब रुपैयाँ छुट्याएको छ । अर्थमन्त्री वर्षमान पुनले भने, ‘स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि, उपकरण र दक्ष जनशक्तिको उपलब्धता सुनिश्चित गरिने, निर्माण सम्पन्न भएका पाँच, दश र पन्ध्र शैयाका आधारभूत अस्पतालहरु विधि तय गरी सञ्चालन गरिने, निर्माणाधिन अस्पतालहरुको निर्माण कार्य पूरा गरिने छ । यसका लागि १५ अर्ब ४१ करोड विनियोजन गरेको छु।’
यस्तै विपन्न नागरिकलाई मुटु, क्यासर, मृगौला, अल्जाइमर्स, पार्किन्सन, इस्पाइनल इन्ज्युरी तथा हेड इन्ज्युरी, सिकलसेल जस्ता रोगमा सौलियतका लागि सरकारले प्रति बिरामीले १ लाख रुपैयाँ पाउने गरी बजेटको व्यवस्था गरेको छ । जसका लागि सरकारले ३ अर्ब विनियोजन गरेको अर्थमन्त्री पुनले बताए ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र र आधारभूत अस्पतालबाट उपलब्ध गराउँदै आएको ९८ प्रकारका औषधी नि:शुल्क उपलब्ध गराउन, खोप र प्रजनन् स्वास्थ्यका लागि आवश्य सामग्रीका लागि १ अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरेको समेत वक्तव्यमा उल्लेख छ ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भने, ‘आधारभूत स्वास्थ्य सेवा केन्द्र र आधारभूत अस्पतालबाट उपलब्ध गराउँदै आएको ९८ प्रकारका औषधी तथा खोप र नि:शुल्क उपलब्ध गराउन, खोप र प्रजनन् स्वास्थ्यका सम्बन्धी आवश्यक सामग्री निशुल्क उपलब्ध गराउन १ अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरेको छु ।’