काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलेचुनावपछि एमाले भेटिदैन भन्नेहरु अहिले वेपत्ता रहेको भन्दै व्यंग्य गरेका छन्।
काठमाडौंमा बुधबार एमालेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै उनले देवासुर संग्राममा देवीहरु मैदानमा उत्रिएजस्तै एमालेका तर्फबाट महिलाहरु मैदानमा उत्रिएर पार्टीलाई जोगाएको बताए ।
‘धेरैले भने चुनावपछि टर्च बालेर हेरे पनि एमाले भेटिँदैन, धुलो पिठो बनाइदिन्छौं र एकथरी भने अलि खुलस्त लागे, धेरैथरी लागे नेकपा एमालेलाई ध्वस्त पार्न । तर, देवासुर संग्राममा देवीहरु मैलदानमा उत्रिएको जस्तै नेकपा एमालेको तर्फबाट देवीहरु मैदानमा उत्रिए सबै सखाप,’ उनले भने, ‘टर्च बालेर खोज्दा एमाले भेटिदैन भन्नेहरु टर्च बालेर मात्र भेटिन्छन् अहिले । आज एमाले जसरी सबल अवस्थामा पुगेको छ, महिलाहरुको असाधारण भूमिका छ ।’
उनले अहिलेको व्यवस्था परिवर्तन भएतापनि अवस्था जहाँको तहीँ छ भन्ने गलत भाष्य निर्माण भइरहेको बताए । विगतमा भएका संघर्ष, लडाइँलाई अहिलेको पुस्ताले मूल्यांकन गर्न नसकेको उनको जिकिर छ । उनले भने,‘अहिले अवस्था जहाँको तहीँ छ भन्ने होइन। एउटा गलत शब्दावलीको प्रयोग भइराखेको छ अहिले नेपालमाव्यवस्था परिवर्तन भयो, अवस्था जहाँको तहीँ छ भन्ने । भर्खर आएको केटाकेटीले के देख्नु के, अवस्था कहाँ थियो, कहाँबाट कहाँ आइपुगियो भनेर ?कति संघर्ष गरेर, कति लडाइँ गरेर कुन अवस्था पार गरेर यहाँसम्म कुन बलिदान दिएर यहाँ आइएको छ, अवस्था उस्ता उस्तै रे । कहाँ छ उस्ता उस्तै छ? महिलाको उपस्थिति संसदमा ३३ प्रतिशत छ ।’
सहकारी संस्थाहरु संकटमा परेको प्रसंगमा उनले गलत तत्वले सहकारीलाई माध्यम बनाएर ठगी गरेको आरोप उनले लगाए । गैरसहकारीवालाहरु, ठगेर खानेहरू प्रवेश गरेको हुनाले केही ठूला सहकारी समेत बदनाम भएकोउनले बताए ।
उनले भने,‘अहिले सहकारीमा गैरसहकारीवालाहरु, सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरू प्रवेश गरेको हुनाले केही सहकारी ठूला सहकारी बदनाम भएको छ। त्यहाँ समस्याग्रस्त भएको छ। ती संकटग्रस्त छन्। तर, साँच्चैको सहकारीहरू संकटग्रस्त हुँदैनन्, आफ्नो नियम पालना गरेर अगाडि बढ्नुपर्छ, कुनै समस्या हुँदैनन्।’