विराटनगर । सिप, ज्ञान र क्षमता भएर पनि बेरोजगार भएर बसेका युवाहरुलाई रोजगारदाता संस्थासँग जोड्ने हेतुले विराटनगरमा दुई दिने श्रमाधान रोजगार मेला सुरु भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,सामाजिक विकास मन्त्रलाय कोशी प्रदेश र विराटनगर महानगरपालिकाको आयोजना तथा नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशको संयोजनमा रोजगार मेला कोशी प्रदेशको राजधानी विराटनगरबाट बिहीबारदेखी सुरु भएको हो । रोजगार मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्धघाटन गरेका छन् । कार्यक्रमको उद्धघाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छन् । वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गरिने दाहालले उद्घोष गरे ।
‘श्रमाधान रोजगार मेला’ सरकारको अर्थपूर्ण कार्यक्रम भएको बताउँदै प्रधानमन्त्रीले श्रम र रोजगारीसँग सम्बन्धित सम्पूर्ण अवसर र समस्याहरूलाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने र नागरिकको रोजगारीको संवैधानिक हक प्रत्याभूत गर्न यसले विषेश भूमिका खेल्ने विश्वास व्यक्त गरे । त्यसैगरी कार्यक्रममा श्रममन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न र आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न केही अघि श्रमाधान कल सेन्टरको स्थापना गरेको र त्यसले प्रभावकारी ढंगले काम गरिरहेको कार्यक्रममा जानकारी गराए ।
मेलामा वैदेशिक रोजगार बोर्ड, सामाजिक सुरक्षा कोष तथा विभिन्न म्यानपावर कम्पनीका छाता संगठनको सहभागिता रहेको छ । मेलामा सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल संघ नेपाल लगायतले पनि स्टल राखिएको छ । विराटनगरकोे सिटी प्यालेसमा दुई दिने मेलामा पुगेका सहभागीहरुले वेरोजगार युवाहरुको लागि यस्तो मेला बेला बेलामा आयोजना गर्नुपर्ने बताएका छन् ।
कोशी प्रदेशबाट सुरु भएको मेला आगामी जेठ ३० गते बुधबार बागमती प्रदेशको ललितपुरमा पुगेर सम्पन्न हुने जनाइएको छ । मन्त्रालयका अनुसार मेला प्रत्येक प्रदेशमा दुई/दुई दिनसम्म चल्ने छन् । मेलाबाट सबै प्रदेशबाट सङ्कलन भएका रोजगारदाता संस्था र रोजगारीमा खोजी गर्ने आएका तथ्याङ्कसमेतलाई समेटर रोजगार बैंक बनाएर रोजगारीका अवसर जुटाउने मन्त्रालयको अपेक्षा छ ।