काठमाडौं । वेस्टइन्डिज र अमेरिकामा जारी आइसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले आज आफ्नो पहिलो खेल खेल्दै छ । समूह एमा रहेको भारत र आयरल्याण्डबीचको खेल न्युयोर्कको नासाउ काउन्टी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ बजे सुरुहुने छ ।
यही मैदानमा भारत र पाकिस्तानबीचको पनि खेल हुने भएकाले एक साता अघि देखि नै सुरक्षा व्यवस्था भने कडा बनाइएको छ । न्यूयोर्कमा आतंकवादी हमलाको खतरालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थ मजबुत पारिएको जनाइएको छ । टी–२० अन्तर्गत नासाउ काउन्टीमा अहिलेसम्म एउटा मात्र खेल खेलिएको छ, जुन निकै कम स्कोरिङ भएको थियो ।
नासाउको पिच यस्तो छ कि अहिलेसम्म कसैले अनुमान लगाउन सकेको छैन । दक्षिण अफ्रिकाविरुद्ध श्रीलंकाको टोली ७७ रनमा मात्रै सिमित भयो । यति मात्र होइन, दक्षिण अफ्रिकालाई ७८ रनको लक्ष्य पछ्याउन १७ ओभर लागेको थियो । यस्तो अवस्थामा आयरल्याण्ड जस्तो खतरनाक टोली अपसेट गराउन माहिर छ । यसअघि पनि उसले धेरै पटक यस्तो गरिसकेको छ । तर, भारत र आयरल्याण्डबीचको तथ्याङ्क हेर्दा यी दुई टोलीबीच अहिलेसम्म सात खेल भइसकेका छन् । भारतले सातवटै खेल जितेको छ । रोहित शर्माको नेतृत्वमा रहेको भारतीय टोलीले आयरल्याण्डलाई हल्का रुपमा लिने प्रयास गर्नेछैन । भारतीय टोली कागजमा निकै बलियो मानिन्छ । टोलीमा अनुभव र युवा जोशको विशेष मिश्रण छ ।
यस्तै, आयरल्याण्डको टोली पनि आज पहिलो पटक भारतलाई हराउने लक्ष्य साथ मैदान उत्रने छ ।