इन्दु साह
विराटनगर । उपभोक्ताको धारामा पानी धमिलो आयो, लेदो आयो वा अन्य कुनै विकार देखिए गुनासो विराटनगर महानगरपालिकामा पुग्छ । तर, खानेपानी वितरणसँग सम्बन्धित कार्य भने महानगरपालिका आफैंले गर्दैन ।
महानगरपालिकामा खानेपानी शाखा भने छ । नगरवासीले दैनिकजसो खानेपानी दुषित भएको भन्दै दैनिक गुनासो आउने गरेको हो । शाखाका कर्मचारी मुकेश कामतका अनुसार खानेपानी धमिलो भएको भन्दै नगरवासीले गुनासो पोख्ने गर्दछन् । तर, पानी वितरणको जिम्मेवारी भने महानगरपालिकासँग छैन ।
विराटनगरमा तीन उपभोक्ता समिति र नेपाल खानेपानी संस्थानले पानी वितरण गर्दै आएका छन् । पानीको सुद्धता जाँच गर्ने आफ्नै ल्याव नहुँदा नेपाल वातावरण सेवा केन्द्रमा पठाउनु पर्ने नेपाल खानेपानी संस्थानका सूचना अधिकारी होमप्रसाद चौंलागाँईको भनाई छ । उनका अनुसार आफ्नै ल्याब स्थापना गर्ने उद्देश्यले जनशक्तिलाई तालिममा पठाइएको उनको दाबी छ ।
उपभोक्ताको गुनासोका आधारमा संस्थानले पाँच महिना अगाडी शुद्धता परीक्षण गरेको थियो । उपभोक्ताको गुनासो वा कुनै शंका लागेको अवस्थामा शुद्धता परीक्षण गर्ने गरिएको हो । उपभोक्ताले पानी पहेंलो आउने, फोहोर आउने, लेदो आउने जस्तो गुनासो गर्दै विराटनगर महानगरपालिका र पानी वितरण गर्दै आएका निकायमा गुनासो राख्ने गर्दछन् । तर, तत्काल परीक्षण गरेर उपभोक्तालाई जवाफ दिन भने नसकिएको चौलागाई बताउँछन् । त्यसका लागि आफ्नै ल्याब जरुरी परेको छ ।
कैफियत देखिएको गुनासोपछि संस्थानले पानीको गुणस्तर परीक्षण गरी पाउँ भनी नेपाल वातावरणीय सेवा केन्द्रमा पठाउँछ । केन्द्रले नमूना संकलन गरेर परीक्षण गर्दछ । जसमा १८ वटा तत्व को परीक्षण गरेर पानीको सुद्धता मापन गरिन्छ । जसमा तापक्रम, चालकता, टर्बिडिटि, रङ, कुल घुलनशील ठोस, फ्लोराइड, अमोनिया, नाईट्ड, क्लोराईड, क्याल्सियम, फलाम, आर्सेनिक, कुल कोलिफर्म लगायतका हुन्छन् ।
यी १८ तत्व विश्व स्वास्थ्य संगठनको गाइडलाइनका आधारमा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड अनुसार भए/नभएको यकिन गरेर पठाउँछ । परीक्षणमा कैफियत देखिएमा सुधार गर्नुपर्ने काम संस्थानले गर्दै आएको छ ।
https://ourbiratnagar.net/2024/01/249474?fbclid=IwZXh0bgNhZW0CMTAAAR25dctJU9oM_7yD9T5OJRomjXBclqWw6eRqVwGPuZP_cEwoj2xfdthfeVI_aem_LEHscOH9sfSTEGY320aPfQ