विराटनगर । पाँच किलोमिटर लम्बाई रहेको विराटनगर बरगाछी–रानी सडकका ४६ वटा मेडिएनका ब्लकमाा बिरुवा रोप्ने अभियानलाई बैंक तथा वित्तीय संस्थाले गर्ने सहयोग अपेक्षाकृत भएन । सौन्दर्यकरण अभियानका लागि विराटनगरमा कार्यालय रहेका बैंक तथा वित्तीय संस्थाहरु मार्फत ५५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको महानगरपालिकामा हालसम्म १६ लाख ५० हजार रुपैयाँ मात्रै रकम जम्मा भएको हो ।
सौन्दर्यकरणको संयोजन गर्दै आएका सरसफाई शाखा प्रमुख पुनम दाहालका अनुसार हालसम्म १६ लाख मात्रै जम्मा भएको छ । बाँकी रकम कार्यक्रम घोषणा गरेको दिनदेखि एकवर्ष भित्रमा दिने भनिएको उनको दाबी छ । सडक सौन्दर्यकरण गर्न ५५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेर बैकसै एशोसिएसन कोशी प्रदेशको परामर्शमा सहयोग माग्ने योजना राखिएको थियो । अनुमान गरिएको रकम भने अहिलेसम्म पनि जम्मा हुन नसकेको हो ।
विभिन्न जातका फूल तथा विरुवा रोप्ने, घेराबार गर्ने, पानी पटाउन ट्यांकर खरिद गर्ने, दुई जना मालीको व्यवस्थापन गर्ने, एक वर्षसम्म अन्य समग्र व्यवस्थापनका लागि खर्च गर्ने योजनासहित सहयोगको अपेक्षा राखिएको थियो । महानगरले गठन गरेको समितिले ‘क’ वर्गका बैंकका लागि २ लाख, ‘ख’ वर्गका लागि १ लाख ५० हजार, ‘ग’ वर्गका लागि १ लाख र ‘घ’ वर्गका बैंक र लघुवित्त संस्थाहरूका लागि ५० हजार रुपैयाँ निर्धारण गरेको थियो । प्रदेश राजधानीसमेत रहेको विराटनगरमा ४२ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । परियोजनालाई पारदर्शी बनाउन महानगरले उद्योगी तथा समाजसेवी वेनिगोपाल मुन्दडाको संयोजकत्वमा ९ सदस्यीय उपभोक्ता समितिसमेत गठन गरेको थियो ।
तर, बिरुवा रोप्नुपर्ने समय टर्दै गईरहेको पाँचवटा ब्लकमा बिरुवा रोपिसकिएको छ । अब बाँकी क्षेत्रमा सामान आईसकेकोले घेराबेरा गरेर काम अगाडी बढाउने दावी छ । मेडियन स्ट्रिप्सको माटो झिकेर मल लगाउने भन्ने कुरामा पुर्नविचार गरिएको छ । दाहालले बैशाखदेखि कार्यक्रम तयार पारिएकोले बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षमा कार्यक्रम तयार गर्न नसकेकोले चालु आर्थिक वर्षका लागि तयार गर्ने आश्वासन दिएको बताएका छन् । उनले बैंक तथा वित्तीय संस्थामार्फत लिने भनिएको सहयोग मोटिभेसन मात्रै भएकोले जर्बरजस्ती गरेर दिनैपर्छ भन्ने पक्षमा महानगरपालिका पनि नभएको बताए ।