विराटनगरमा सुपथमूल्य पसल सञ्चालनको जिम्मा व्यापारीलाई दिने तयारी

<span class='c1'>विराटनगरमा सुपथमूल्य पसल सञ्चालनको</span> <span class='c2'>जिम्मा व्यापारीलाई दिने तयारी</span>

विराटनगर । विराटनगरमा निजी क्षेत्रमार्फत चाडपर्व लक्षित सुपथमूल्यको एकिकृत पसल सञ्चालनमा ल्याउने तयारी थालिएको छ । सरकारका तीन कार्यालयले अलग–अलग स्थानमा सञ्चालनमा ल्याउने सुपथमूल्य पसलको प्रभावकारीता न्यून देखिएपछि यस पटक निजी क्षेत्रमार्फत एकिकृत रुपमा बिक्री कक्ष सञ्चालनमा ल्याउन लागिएको हो ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सरोकारवाला पक्षबीच भएको छलफलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि., साल्ट ट्रेडिङ कर्पोरेसन लि. र दुग्ध विकास संस्थानमार्फत उपलब्ध हुने वस्तुको बिक्री निजी क्षेत्रबाट समेत गराउने निर्णय भएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीको अध्यक्षतामा बसेको बैठकले व्यापारिक संघसंस्थाको सहभागितामा सुपथमूल्य पसल सञ्चालनमा ल्याउने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता तथा उपसचिव विश्वदिप बेस्राका अनुसार व्यापारिक संघसंस्थाको सहभागितामा एकिकृत पसल सञ्चालनमा ल्याउनका लागि विराटनगर महानगरपालिकाले सहजीकरण गर्ने निर्णय गरिएको छ । त्यस बाहेक चाडपर्व लक्षित बजार अनुगमन बढाउने र कालोबजारी रोक्ने समेत निर्णय भएको उपसचिव बेस्राले जानकारी दिएका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले विराटनगरमा विराट व्यापार संघमार्फत चाडपर्व लक्षित सुपथमूल्य पसल सञ्चालनमा ल्याउने तयारी भईरहेको बताएका छन् । उनँले अहिले सरकारी निकायहरुले सञ्चालनमा ल्याइरहेको सूपथमूल्य पसलहरुबाट लाभग्राहीले न्यून सेवा मात्रै लिईरहेकोले बजारमा व्यापारीमार्फत तिनै वस्तुको बिक्री गराउने योजना राखिएको हो । यसले खुल्ला सीमापारीको किनमेललाई घटाउन सहयोग गर्ने अपेक्षा समेत रहेको छ ।

विराटनगरमा खुद्रा व्यापारीहरुको छाता संस्था विराट व्यापार संघका अध्यक्ष अंशु बन्जराले सरकारले सहुलियत दिएका सामानहरु व्यापारीमार्फत बिक्री गराएर नागरिकसम्म सेवा पु¥याउने प्रदेश सरकारको लक्ष्य अनुसार त्यसको तयारी भईरहेको जानकारी दिएका छन् । त्यसका लागि ईच्छुक व्यापारीहरुसँग संघले आवेदन माग गरेको छ । संघमा दिएको आवेदनका आधारमा जिल्ला प्रशासन कार्यालयमा सिफारिस हुनेछ । जिल्ला प्रशासन कार्यालयले त्यसलाई स्वीकृत दिएर सहुलियतका सामान बिक्री कक्ष सञ्चालनमा ल्याईने अध्यक्ष बन्जराले बताएका छन् ।

तीन संस्थाबाट बिक्री सुरु
विराटनगरमा चाडपर्व लक्षित सरकारी सुपथमूल्य पसल तीन निकायले सञ्चालनमा ल्याएका छन् । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि., खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. र दुग्ध विकास संस्थानको विराटनगर वितरण केन्द्रमा सुपथमूल्य पसल सञ्चालनमा आएको हो ।
सरकारले चाडपर्व लक्षित गरेर यी कम्पनीहरुले आफ्नो कार्यालय प्राङ्गणमा बिक्री गर्ने वस्तुहरुमा साल्ट ट्रेडिङ्ग कर्पोरेशनले नुन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.ले चामल र दुग्ध विकास संस्थानले ३१ प्रकारका दूधजन्य पदार्थमा सहुलियत दिनेछन् । सघीय सरकार मातहतका यी कार्यालयहरुले विगतमा समेत सूपथमूल्यको पसल सञ्चालन गर्दै आएका थिए ।

जस अनुसार साल्ट ट्र्ेडिङ्गले प्रतिकेजी २६ रुपिँयाको नुन २४ रुपिँयामा प्रतिव्यक्ति ६ केजीसम्म उपलब्ध गराउने कर्पोरेशन प्रदेश कार्यालय विराटनगरका विभागिय प्रवन्धक राधेश्याम चौधरीले जानकारी दिएका छन् । गतवर्ष साल्ट ट्रेडिङ्गबाट पाँच हजार ८५० प्याकेट नुन उपभोक्ताले सहुलियत दरमा खरिद गरेका थिए । उपभोक्ताले विराटनगर–१४ मलायारोडस्थित कर्पोरेशनको कार्यालयबाटै नुन खरिद गर्न डिपो सञ्चालनमा ल्याइएको हो ।

दशैं, तिहार र छैठ पर्व लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.ले दुई किसिमको चामल सूपथमूल्यमा बिक्री खोलेको छ । विराटनगर कार्यालयका निमित्त निर्देशक विकास कटुवालका अनुसार स्टिम जिरा मसिनो २५ केजी चामल दुई हजार १५० रुपिँयामा पाइने छ । अरवा सोना मसिनो २५ केजीको मूल्य एक हजार ५०० तोकिएको छ । एकसय क्विन्टल चामल बिक्री गर्ने कोटा पाएको कम्पनीले कोशी प्रोजेक्टको गोदाममा बिक्री कक्ष सञ्चालनमा ल्याएको छ । गतवर्ष कम्पनीले एकसय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य राखेकोमा ३५ क्विन्टल मात्रै बिक्री भएको थियो ।

यसैगरी दुग्ध वितरण आयोजना विराटनगर–५ मा दुग्धजन्य वस्तुको बिक्री कक्षबाट सहुलियत पसल सञ्चालनमा आएको छ । आयोजनाका बिक्री प्रमुख चुडामणी आचार्यका अनुसार ३१ प्रकारका वस्तुहरु २२ प्रतिशतसम्म छुटमा पाइने छ ।
सम्बन्धित कार्यालयहरुले सञ्चालनमा ल्याएका सुपथमूल्य पसल अलग–अलग र दुरीका हिसाबले उपभोक्तामैत्री छैनन् । खाद्यले कोशी प्रोजेक्टको गोदामबाट चामल बिक्री गर्छ, साल्ट ट्रेडिङ्गले मलायारोडस्थित आफ्नै कार्यालय परिसरबाट नुन र दुग्ध आयोजनाले विराटनगर ५ बाट दूधजन्य वस्तुको बिक्री गर्नेछ । साल्ट्र ट्रेडिङ्ग र खाद्य व्यवस्था कार्यालयको दुरी एक किलोमिटरमा पर्दछ भने दुग्ध विकासको दुरी ७ किलोमिटरमा पर्दछ ।

विराटनगर व्यापार संघका अध्यक्ष बन्जराले सरकारले सहुलियतमा उपलब्ध गराउने सामाग्री खरिद गर्न उपभोक्तालाई हैरानी हुने गरेकै कारण कहिल्यै लक्ष्य अनुसार बिक्री नहुने गरेको बताएका छन् । उनले यी सबै वस्तुलाई एकिकृत पसलमा केन्द्रीत गरेर बिक्री गर्दा उपभोक्तालाई सहज हुने भएकोले त्यसकै तयारी भईरहेको हो ।

कोशी प्रदेशमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. अन्तर्गत ११ वटा, साल्ट टे«डिङका दुई र दुग्ध विकास संस्थान अन्तर्गत एक स्थानबाट सूपथमूल्यमा खाद्य सामाग्री, नुन तथा दुग्ध पदार्थ सामाग्री पाइने छ । खाद्यले विराटनगरमा कोशी प्रोजेक्ट नजिक, मुख्य शाखा कार्यालय बिर्तामोड, शाखा कार्यालयहरु भोजपुर, संखुवासभा र डिपो हटियागोला, शाखा कार्यालय ताप्लेजुङ, ओखलढुंगा, शाखा दिक्तेल, डिपो ऐसेलुखर्क र खोटाङ, शाखा कार्यालय सोलुखुम्बुमा सूपथमूल्य पसल सञ्चालनमा ल्याउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्