खोटाङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले जिल्लामा ३३ घर पुरिएका छन्भने दुई घाइते तथा ३८ घरमा आंशिक क्षति पुगेको छ ।
मानवीय क्षति नभए पनि करोडौँ मूल्य बराबरको क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।
“बाढी तथा पहिरोले जिल्लामा ठूलो क्षति पुगेको छ । क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन”, उनले भने, “दश स्थानीय तह रहेको खोटाङमा बाढी तथा पहिरोबाट दुईजना घाइते भएका छन्भने १८ वटा पशुचौपाया मरेका छन् । विस्थापितहरुको उद्धारमा तीनै सुरक्षा निकायका टोली परिचालन गरेका छौँ ।”
बाढी तथा पहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका लागि आइतबार साँझ जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको छ । प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’सहितको उपस्थितिमा आयोजित बैठकमा क्षतिको विवरण तत्काल सङ्कलन गरी चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउने निर्णय भएको छ ।
बाढी तथा पहिरोले घर बगाएर विस्थापित बनेका एक सय ३५ स्थानीयवासीलाई नजिकको विद्यालय तथा आफन्तकामा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।
“बाढी तथा पहिरोले एउटा पक्की बगाउनाका साथै पाँचवटा झोलुङ्गे पुलमा क्षति गरेको जानकारी प्राप्त भएको छ । उद्धारमा खटिएका प्रहरीहरु अझै फिल्डमै छन्”, उनले भने, “जिल्लामा भएको क्षतिको विवरण यो नै पूर्ण होइन । अहिलेसम्म विकासे योजनाबाहेक मानिसका घरमा मात्र रु ७९ लाख ९९ हजार बढीको क्षति भएको जानकारी प्राप्त भएको छ ।”
बाढीका कारण खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पक्की पुल बगाएको छ ।
खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाट, ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरकै धाप्लाङघाट, जन्तेढुङ्गा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटको झोलुङ्गे पुल बगाएको छ ।
विसं २०७९ मा निर्माण सम्पन्न गरेर सञ्चालन गरिएको फोक्सिङटारको पक्की पुल तथा अन्य पाँच झोलुङ्गे पुलहरु शनिबार दिउँसोको बाढीले बगाएको हो ।
फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क डिजाइन’को उक्त पुल बगाएपछि सिधा यातायात सम्पर्क विच्छेद भएको हो । रासस