विराटनगर सदरमुकाम सरेको पीडा बिर्सेर जुरुक्कै उठ्दै रंगेली

<span class='c1'>विराटनगर सदरमुकाम सरेको पीडा</span> <span class='c2'>बिर्सेर जुरुक्कै उठ्दै रंगेली</span>

विराटनगर । पहिलो स्थानीय तहको निर्वाचन २०७४ सालमा सम्पन्न हुँदा रंगेली नगरपालिकाको अवस्था खस्कँदो थियो । शहरको स्वरुप जीर्ण हुँदै जाँदा मोरङको पुरानो सदरमुकामको चहलपहल नगन्य थियो । काली मन्दिर र सन्सारी माईस्थानको दर्शन गर्न पुग्ने बाहेक खासै कसैको काम पर्दैनथ्यो ।

निर्वाचित जनप्रतिनिधि आउँदा आन्तरिक आय ५० लाख हाराहारीमा रहेको रंगेलीमा जिल्ला अस्पतालको अवस्था गाईगोठ झैं लाग्थ्यो । मुख्य बजार क्षेत्रमै सडकका खाल्डा पार गर्न हम्बेहम्बे हुँदा ग्रामिण वस्ती यात्राका लागि जोखिमयुक्त थिए । तर, संघीयतासँगै पहिलो स्थानीय तह निर्वाचन सम्पन्न भएपछि भने रंगेलीले सदरमुकाम सरेको पीडा बिर्सेर आफैंलाई उठाउने प्रयत्न गरो । त्यसपछि सुधार हुँदै गएको आन्तरिक आय बढेर २ करोड ८८ लाख गत आर्थिक वर्ष संकलन गरेको छ । यद्यपी रंगेलीमा फड्किएको विकास र त्यसले फर्काएको साखसँगै नगरपालिकाको दैनिक प्रशासन सञ्चालन गर्न वार्षिक ११ करोड रुपिँया कर्मचारी धान्ने रकम आवश्यक पर्दछ ।

मंगलबार रंगेलीका नगर प्रमुख दिलिप बगडीयाले विशेष नगरसभा सम्पन्नपछि चालु आर्थिक वर्षका लागि बृद्धि गरिएको करका दर संशोधन तथा परिमार्जन गरिएको जानकारी दिए । त्यसबेला उनको एउटा चिन्ता थियो, यदि स्थानीय तहलाई आफैं सवल हुनु भनेर माथिल्ला सरकारले भनेको दिन कमजोर आन्तरिक आय भएका पालिकाहरु कसरी चल्ने ? भन्ने तयारी आजै गर्नुपर्ने हुन्छ । उनले आफुले नेतृत्व लिएदेखि पहिलो पटक करका दरमा गरेको केहि बृद्धिलाई इस्यु बनाउँदा आगामी दिनमा कसरी पालिका चलाउने भन्ने सोचिएकै होला ? भनेर प्रतिप्रश्न समेत गरे ।
उनको प्रश्नमा स्थानीय सरकारहरु सञ्चालन गर्न पाउने आफ्नै कानुनी प्रावधानलाई कसैले पनि राजनीतिक विषय बनाएर तोडमोड गर्नु नहुने सुझाव समेत दिए । तर यी सुझावसँगै रंगेलीले फर्काइरहेको साखमा उनको नेतृत्वलाई सवल बनाउने केहि योजनाले भने विराटनगरमा सरेको सदरमुकामलाई बिर्साएका पनि छन् ।

नौ वडामा एकै पटक ३८ किलोमिटर कालोपत्रे सडक योजना
रंगेली नगरपालिकाले चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरि नौ वटै वडालाई जोड्ने गरि ३८ किलोमिटर सडक कालोपत्रे योजना अगाडी सारेको छ । हुलाकी राजमार्गले पूर्व–पश्चिम र उत्तर–दक्षिण समेटेको रंगेली क्षेत्र त्यसैपनि विकासको बलियो आधार पस्कने अवस्थामा पुगिसकेको छ । रंगेली नगरपालिकाको ६ किलोमिटर दुरीमा अहिले छ लेनको हुलाकी राजमार्ग कालोपत्रे भएर सौन्दर्यकरण गरिएको छ । रंगेली पुग्नेहरुका लागि त्यहि सडकको स्वरुप हेरिसकेपछि लाग्छ वाह ! स्थानीय तहको केन्द्र ।

त्यस बाहेक ग्रामिण क्षेत्रका कच्ची सडकलाई ग्राभेल र ग्राभेल सडकलाई कालोपत्रेमा स्तरोन्नती गरिएको दावी नगर प्रमुख बगडीयाको छ । आकर्षक नगरपालिकाका भवन परिसरमा आयोजित पत्रकार सम्मेलनमा उनले गरेको दावी अनुसार आगामी वर्षमा रंगेलीलाई ३८ किलोमिटर सडक सञ्जालले जोड्ने छ । जुन सडक सञ्जालका लागि वडाहरु बजेटको सिलिङ पेस नगरी सडकको योजना दिएका थिए । सबै वडामा न्यूनतम पाँच किलोमिटर सडक कालोपत्रे हुँदा एकले अर्को वडालाई जोड्ने र वडाहरु केन्द्रसँग जोडिने उनको दावी छ । ग्रामिण सडकहरुका बत्ती जडान, जडान गरिएको सडक बत्तीको महशुल नगरपालिकाले नै बुझाउँदै आएको छ । विद्युत विस्तारसँगै सूचना र प्रविधिको क्षेत्रमा नगरवासीलाई जोड्न १३२ स्थानमा फ्रि वाईफाई जडान गरिएको छ । त्यस बाहेक इलाका प्रहरी कार्यालय रंगेलीको मातहतमा रहने गरि नगर क्षेत्रको अपराध न्यूनीकरणका लागि ४८ सिसी क्यामरा जडान गरिसकिएको जानकारी बगडीयाले दिएका छन् ।

स्वास्थ्यमा नगरवासीको भर नगरपालिका
स्थानीय तह निर्वाचनबाट पहिलो पटक निर्वाचित हुँदा रंगेली अस्पतालको स्वरुप गाइगोड झैं थियो । सेवा सञ्चालन कमजोर थियो । अस्पतालको भवन जीर्ण हुँदा पानी चुहिएर त्यहाँका एक्स–रे तथा ल्यावका सामान बिग्रने समस्या थियो । पछिल्लो समय रंगेली अस्पताललाई नगर मातहत ल्याइएको छ । १५ शै्याको अस्पताल सञ्चालन गर्न पाउने प्रावधान भएपनि दैनिक ६०० ओपीडीका बिरामीले सेवा लिने गरेका छन् । अस्पतालको क्षमता नै १५ शै्याको भएपनि आकस्मिक सेवामै १६ शै्यामा बिरामी भर्ना भएर सेवा लिदै आएका छन् । नगरपालिकाले स्वास्थ्य सेवाको पहुँच सुकुम्वासी, दलित, सिमान्तकृत, अति विपन्न दुई हजार १०० परिवारको निःशुल्क बीमा नगरपालिकाले नै गरिदिएको छ । त्यस बाहेक रक्त सञ्चार केन्द्र स्थापना र निःशुल्क रगत व्यवस्थापन सेवा दिदैं आएको छ ।

स्थानीय तहले सञ्चालन गरेको नगर अस्पताल रंगेलीमा मोरङको दक्षिणवर्ती पालिकाबाट समेत बिरामी पुग्ने गरेका छन् । रतुवामाई, कानेपोखरी, बेलबारीको तल्लो क्षेत्र, धनपालथान, सुनवर्षी र भारतका समेत गरि दैनिक ६०० जनाले ओपीडी सेवा लिदैं आएका छन् । मेडिकल अधिकृतसहितको आकस्मिक २४ घण्टे सेवा, ल्याव, एक्स–रे, भिडियो एक्स–रे तथा इको सेवा अस्पतालले दिदैं आएको छ । त्यस बाहेक एम्बुलेन्स, शव वहान सेवा निःशुल्क गरिएको छ ।

अस्पतालमा जनरल तथा विशेषज्ञ ओपीडी, जनरल सर्जरी, नर्मल तथा शल्याक्रिया प्रसुती सेवा, पाँच शै्याको आईसियु तथा भेन्टिलेटर, दन्त चिकित्सक सेवा रहेका छन् । रंगेली अस्पतालले पछिल्लो समय पोष्टमार्टम सेवा समेत दिदैं आएको छ । नगर प्रमुख बगडीयाका अनुसार निकट भविष्यमै ल्याप्रोस्कोपिक र हेमोडायलाइसिस सेवा समेत सञ्चालनमा ल्याउने तयारी छ । यति हुँदाहुँदै रंगेली अस्पतालमा बीमा वापतको ६ करोड रुपैँया रकम बिमा बोर्डमार्फत प्राप्त हुनुपर्ने रोकिएपछि त्यसले असजिलो भएको बगडीयाले जानकारी दिए । ‘थोरै आय भएको रंगेलीले ६ करोड रुपैँया नपाउँदा नागरिकको स्वास्थ्य व्यवस्थापनमा चुनौती थपिएको छ’ नगर प्रमुख बगडीयाले भने–औषधी अहिलेसम्म निःशुल्क दिईरहेका छौं, नगरवासी मात्रै नभई छिमेकी पालिकाका नागरिकले समेत औषधी लिने गरेका छन् ।

अत्वाश्यक सेवामा नयाँ आयम
रंगेली नगरपालिकामा चारवटा पालिका केन्द्रीत अत्यावश्यक सेवा केन्द्र निर्माण समेत सुरु भएको छ । रंगेलीलाई केन्द्र बनाएर धनपालथान, कानेपोखरी र सुनवर्षीलाई समेटेर मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माणको काम थालिएको हो । नगरपालिकाले नगरवासीका लागि अत्यावश्यक समयमा प्रयोग हुने आर्यघाटका लागि दाउरा निःशुल्क उपलब्ध गराउँदै आएको छ । जुन सामाजिक अन्तिम संस्कारका लागि नागरिकका लागि महत्वपूर्ण सेवाको रुपमा मानिन्छ ।

कृषिमा नयाँ फड्को
नगरपालिका क्षेत्र भित्र कृषि क्षेत्रको सुधार योजनालाई समेत उतिकै प्राथमिकतामा राखिएको छ । सिजन अनुसारको बीउबिजन कृषकलाई उपलब्ध गराउनेदेखि खेती सिंचाईमा प्रयोग हुने बिद्युतको महशुल समेत नगरपालिकाले नै बुझाउँदै आएको दावी नगर प्रमुख बगडीयाको छ । उनका अनुसार सिंचाईमा प्रयोग भएको मोटरको मात्रै वार्षिक ५० लाख बिद्युत महशुल नगरपालिकाले बुझाउँदै आएको हो ।
यसैगरी वडा नम्बर १ बाट सीमा बाँधमार्फत पाँच हजार बिघा जग्गामा सिंचाई सुविधा उपलब्ध हुने योजना अन्तिम चरणमा पुगेको दावी गरिएको छ । रंगेली कृषि बजार, दोहमना कृषि तथा पशु हाट बजार, कोल्ड स्टोर सञ्चालन उन्मुख योजनाको रुपमा रहेको नगर प्रमुख बगडीयाले जानकारी दिएका छन् ।

नागरिकका दुःख मा सधैं साथ
नगरप्रमुख बगडीयाका अनुसार हरेक नगरवासीको दुःखमा जनप्रतिनिधिको हैसियतमा साथ दिने गरेको बताएका छन् । उनले उद्योगी र जनप्रतिनिधिबीचको अन्तर भनेकै फरक हुने बताउँदै भने–उद्योगी मात्रै हुँदा नाफाघाटाका हिसाब हुन्थ्यो, जनप्रतिनिधि हुँदा नगरवासीको काम सम्झेर निदाउन पाइन्छ । उनका अनुसार नगरपालिकाले आफ्नै स्रोतबाट १३ जना शैक्षिक छात्रवृत्ति दिएर प्राविधिक उत्पादन गरिरहेको, हुलाकी सडकको डिभाइडर र मूल सडकहरुमा बृक्षारोपण गरेर हरित नगर बनाउने काम भईरहेको, सबै वडामा राष्ट्रिय परिचयपत्र दर्ता र नविकरण अनलाइन सेवा सञ्चालनमा रहेको, राहदानी सेवा रंगेलीबाटै दिईरहेको, नगरपालिका, अस्पताल, शैक्षिक संस्था र सबै वडामा सुद्ध पीउने पानीको व्यवस्था मिलाइएको र दश स्थानमा सामुहिक डिप बोरिङ्ग गाडिएको जानकारी दिएका छन् ।

 

पर्यटक तान्दै दुई मन्दिर
रंगेली नगरपालिकामा धार्मिक पर्यटकका लागि दुई मन्दिर छन् । कालि मन्दिर र संसारी माईमन्दिर पूर्वका प्रख्यात शक्तिपीठमा पर्दछन् । जहाँ वर्षेनी हजारैं धार्मिक पर्यटकको रुपमा आस्था र आराधनाका लागि पुग्दछन् । रंगेलीको सन्सारी माईस्थान मन्दिरमा दशैंका फूलपाती भित्र्याउने प्रचलन रहेको छ । प्रदेश सरकारले नै यहाँ फूलपाती बढाँई गर्न थालेपछि यसको महत्व अझै बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्