-चन्द्र पौडेल
जब चाडबाड आउँछन्, परदेशीले देश सम्झन्छ । भदौको कुशेऔँशी हुँदै जब स्वदेशमा चाडपर्व सुरु हुन्छन्, त्यस बेलादेखि परदेशीको मनमा बेचैनी हुन्छ । जन्मभूमिमा खेलेका, हुर्केका साथीभाइ, वल्लोपल्लो घर अनि उकाली ओराली गरेको खेतगरो, खोलानाला, डाँडाकाँडा अनि मेलापातको याद आउन थाल्छ । आफ्नो थातवासको यादले विदेशमा जति सुखसयल भए पनि मन अमिलो हुन्छ । नारायणगोपालको स्वर लहरीमा गुञ्जेको गीतमा झैँ ‘म जन्मे जहाँ, म हुर्के जहाँ, म खेले जहाँ त्यही आँगन प्यारो छ, यो छातीभरि मुरीका मुरी नेपालको माया छ’ जस्ता सुमधुर गीतका आवाजले मन चसक चसक बिझाउँछ ।
हामी नेपालीहरुको महान् पर्व बडादशैं, तिहारको उत्साह र रौनकता बढदो छ । तर, बाध्यता, बिवशता र परिवन्दले परदेशीएकाहरुलाई भने यस्ता चाडपर्वले उत्साह होइन, झन निराश,एक्लोपन अनि रुवाउने गर्छ । गरिबी, अभाव र बेरोजगारीको कारण घर छोडेर बिदेशीनु पर्ने हामी नेपालीको तितोे यथार्थ जुन छ यसलाई हामी नेपालीको बिडम्बना नै भन्नु पर्छ । स्वदेशमा रोजगारीको अवसर नपाए पछि दैनिकी रोजीरोटीको खोजीमा सुनौलो सपना बुन्दै खाडीको तातो घाममा तप तप पसिना चुहाउन बाध्य भएका छौ हामी नेपाली । लगातारको राजनीतिक अस्थिरता, लामो समय सम्मको द्धन्द्ध र राज्यको मुखदर्सक्ताले आज हामीलाई घर परिवार छोडेर बिदेशीन बाध्य पारेको यो नै यथार्थ हो ।
चाहेर होस वा नचाहेरै आफु र आफ्नो परिवारको दैनिकी गुजरा चलाउन अनि आफ्नो सन्तानको सुन्दर भविष्य बनाउन भनी आज लाखौं युवा युवतीहरु ऋाफ्नो उमेर र जवानी बिदेशी भुमिमा बेच्न बाध्य भएका छौं ।
हो, आज हामी हाम्रो उर्बर भुमिमा चाही सुख्खा खण्डहर(उजाड) बनाउदै अरबको मरुभूमिलाई हरियाली बनाउदैं छौं । मनका हजारौं रहर चाहाना र आकाक्षा लाई मारेर आफ्नो मौलिकता,संस्कृति,चाडपर्व अनि रितिरिवाज मुल्यमान्यतालाई समेत चाहेर पनि मान्न अनि रमाउन नपाउनु साच्चै यहाँ भन्दा ठुलो बिडम्बना के रहला र हामी नेपालीका लागि....?
वर्षदिनमा एकपटक आउँने दशै तिहार पर्व मनाउँन यतिबेला शहर,बजार, परदेहबाट घर गाउँ आउने लहर चलिरहदा परदेशमा रहेकाहरुको मनमा भने घर परिवार र साथीसङ्गीहरुको सम्झनाले पिरोल्न थालेको छ भने अर्का तिर चाडपर्व नजिकिँदै गर्दा त्रिभुवन अन्तराष्ट्यि विमान स्थलमा अमिलो मन,मलीन अनुहार बनाउदै र गहभरि आशु बोकेर बिदाईका हातहरु हल्लाउनेको भिड पनि उत्तिकै देखिन्थ्यो ।
पिढीमा बसी,औउला भाची छोराको आउने दिन गन्दै थिइन.... लोकनाथ सापकोटाको शब्द अनि उदितनारायण झा र दीपा नारायणको आवाजमा रहेको यो परदेशीको मन छुने मार्मिक भावनालाई समेटीएको छ । यो गीत सँग मिल्ने कथा छ रोजगारीको शिलसिलामा दुवई पुगेका २८ वर्षीय नवराज काफ्ले जो पछिल्लो ५ वर्ष देखि नेपाल आउन पाएका छैनन् । ५ वर्ष भयो उनले नेपालको चाडपर्वलाई तस्वीरमा देखेको, घरलाई फोनमा हेरेको र परिवारको आवाज मात्र सुनेको चाडपर्वका बेला परिवार र साथीभाई संग नहुनुको पीडा उनले फोनबाटै सुनाए । आफ्नो घर परिवारसंग दशैं, तिहार मनाउन नपाउनुको पीडाको शब्द शायद उनले शब्दकोष मै भेटेनन् । उनी भन्छन् फेसबुकमा देखिरहने तस्वीरहरुले पिरोल्छ अझ यस्ता चाडपर्वको बेला ता झन बढी । परिवारसंगै एउटै तस्बिरमा पाउने स्थानलाई उनी कल्पना मात्र गर्छन अनि भन्छन “आँखा भरि आँशु र मन भरि पीडा बाहेकका विकल्प पनि त हुदैन् परदेशीसँग” एकदुई घण्टाको बाटो पनि त हैन आज आए भोली फर्कन्छु भन्नलाई फेरि घर फर्कनलाई पनि कहाँ सजिलो छ र सोचेको समयमा हामीहरुलाई भन्दै फोन राखे । उनले ‘अलोन’ शब्दको प्रयोग धेरै पल्ट गरे । मलाई लाग्यो उनको गहिरो माया छ त्यो शब्दसँग ।
त्यस्तैगरी १२ वर्षसम्म परिवारसंग चाडवाड मनाउन नपाएको झापा दमक घरका देबेन्द्र बछारको दशैको टिकाको दिनमा पनि ड्युटी रहेको बताए । मलेसियाको वेस्टन डिजिटलमा कार्यरत उनको छुट्टी नमिलेको र परिवाको यादले पिरोलीरहेको उनले सुनाए ।
बिरानो देश, अनौठो भाषा सस्कृति, छुटटै रहनसहन कस्ले बुझिदिने हाम्रो मर्म..? बिहानै उठ्यो काचो होस् या कचिलो पाकेको होस् या काच्चै दुई गाँस टपक्क टिप्यो अनि लाग्यो फेरी त्यहि काममा । दिन भरि काममा मालिकको गाली कामको चाप र थकान शरीर लिएर साझ लखतरान भएर कोठामा फक्र्यो अनि फेरी आफैले केहि बनायो मन नमान्दा नमान्दै दुई गाँस खायो अनि पल्टियो त्यहि बिस्तारामा । यसरी सुनाएको उनको दैनिकी । यी माथी उल्लेख गरिएका नाम त दुई पात्र मात्र हुन यसरी बाध्यता र विवशताको भुमरीमा परि विदेशी भूमीमा आफ्नो पसिना र रगतसँगै उमेर र जवानी बेच्दै गरेका लाखौं नौजवान नेपालीको वास्तविकता कहानी बुझ्दा सायदै घर देहमा रहने आफन्तको मन स्थिर रहला ? सम्भावना र चुनौतीलाई पहिल्याउन नसकी साहुको महँगो क्रण काटेरै विदेशी भुमिमा गुलाम बन्न आएका कर्मठ नेपाली ऊर्जा शक्तिको भगवान् भरोसा बनेको काम र मान्नै नसक्ने काम अनुसारको दाम अनेकौं पिडाको जन्ञालमा नचाहेरै पनि रमाएका छन् । तमाम नेपाली मनहरु देखेको सुनेको जस्तो कहाँ हुन्छ र परदेशी जीवन । अरुको खटन अरुकै आशा आफ्नो केवल झिनो सपना अनि त्यसैको भरोसा । न दिनको भोक न रातको निन्द्रा न जीवनको न कुनै मनको रहर बेवल चल्छ त अरुकै कर । गलेको होस् की थाकेको, ज्वरो आएको होस् या बिरामी परी खान नरुचेको होस् काम नगरी धरै हुदैन् ।
परदेशमा बस्दा बिरामी भएको छुट मिल्दैन । मानवीय अर्थ र महँव भुलेर काम, काम र फगत कामको लागि जोडबल गर्नु पर्छ । आफ्नो देशमा यति दुःख गरियो भने के असम्भव छ र जस्तो लाग्छ तर फेरि आफ्नै अतीतले दुखाउँछ, पोल्छ भत्भती । मैले अनि हामीले त्यसै गाउँ छोडिएको थिएन भनेर मनभित्रै गुनगुनाउनु पर्छ । परदेशमा धेरै थोक छ तर देश छैन, आमाको ममत्व छैन, बुवाको अभिभावकीय हप्की छैन । काकाको स्नेह छैन । वनमा कराउने कोइलीको कुहु कुहु छैन, घाँस दाउरा र गोठालो जाँदा साइँली दिदीले ल्याइदिने चुत्रो छैन । ऐसेलु र काफल खल्तीमा बोकेर ल्याइदिने मायालु चम्पा छैन । केवल यहाँ छ साहु अनि उसका निर्दयी आदेशहरू मात्र । यन्त्रमानव भएर छाती चिरा पारेर काम गर्दै बाँचेका छौँ ।
वैदेशिक रोजगारी पनि आधुनिक दास जस्तै हो । यहाँ मजदुरको कुनै स्वतन्त्रता छैन । काम गर्न सक्यो, परदेशमा बस्यो, काम गर्न सकिएन परदेश विरानो देश हुन्छ । उखरमाउलो गर्मीमा खलखली पसिना बगाएर काममा जोतिनु र शून्य डिग्रीभन्दा तल रगत जम्ने चिसोमा काम गरेर बस्नु हामी परदेशीको नियति हो । देश सम्झँदा आँखाबाट आँसु होइन, रगत चुहिन्छ । इजरायलमा बमबारी भएको सुनेर र नेपाली विचल्लीमा परेका, घाइते भएका सुनेर हरेक परदेशीको मन बेस्सरी दुःखेको छ ।
प्रवासमा बसेर रेमिट्यान्स पठाएर देश धानेको छु भन्ने सन्तोष र घर परिवारलाई आर्थिक रूपमा जेनतेन चलाएको छु भन्नेबाहेक अरु सन्तोष गर्ने विषय परदेशीका लागि छैन । हाम्रा गाउँ युवाविहीन भएका छन्, खेतबारी बाँझो भएका छन् । जहाँ बसे पनि देशको माया छ, आँखाभरि देश बनाउने सपना छ तर देशले हामी जस्ता युवा स्वदेशमै राख्ने नीति बनाएको छैन । त्यसैले बिदेसिनुको पीडा छ, सरकारले ध्यान देओस् । देशका सिर्जनात्मक पाखुरी र रचनात्मक दिमागलाई स्वदेशमा नै राख्न मिलेर काम गर्ने, युवालाई स्वदेशमै लगानी र रोजगारीको वातावरण निर्माण गर्न सबैको ध्यान जाओस् । बाध्यताले परदेशिएको नेपाली स्वदेश फर्कन आतुर छ । त्यस दिशातर्फ सरकारले ध्यान दिनु आवश्यक भइसकेको छ ।
धेरै परदेशीहरुको यस्तै पिडा छन् चाडपर्व होस् या अन्य कुनै बेला । बिदेशीएका कति नेपालीहरुले स्वदेशिन्छन् भने कतिपय चाहेर पनि फर्कन पाउदैनन् । यस्तै छ परदेशीको कथा जे होस जो जहा“ बसेर भए पनि आफ्नो मौलिक रितिरीवाज, सस्कृतिलाई माया गरौं । सबैमा एकमुष्ट शुभकामना आउदै गरेको चाडहरुको ।