विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सले ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गर्ने भएको छ।
कात्तिक २६ गतेदेखि कोशी प्रदेशका ५ जिल्लामा ट्यालेन्ट हन्ट कार्यक्रम हुने भएको हो।
विराटनगर किंग्सको लागि ३-५ जना खेलाडी हरेक जिल्लाबाट छानेर विराटनगरमा हुने तयारी क्याम्पमा सामेल गर्ने उदेश्यसहित उक्त क्याम्प हुन लागेको विराटनगर किंग्सका अपरेसन डाइरेक्टर दिपेन्द्र चौधरीले जानकारी दिए । ट्यालेन्ट हन्टमा टिमका क्रिकेट कोच लाक्पा लामा र दिपेन्द्र चौधरीले छान्ने छन् ।
कोशी प्रदेशको इलाम (जस्बिरे क्रिकेट ग्राउण्ड) मा कात्तिक २६ गते , झापा(युनाइटेड क्लब बिर्तामोड) मा कात्तिक २७ गते ,सुनसरी(जनता क्रिकेट ग्राउण्ड डि भी एम स्कुल इटहरी)मा कात्तिक २९ गते, उदयपुर(थारुहट रंगशाला गाईघाट )मा कात्तिक ३० गते , मोरङ(मेरिलेबन विराटनगर ज्वाला क्रिकेट ग्राउण्ड विराटनगर)मा मङ्सिर २ गते उक्त ट्यालेन्ट हन्ट आयोजना हुनेछ । कोशी प्रदेश क्रिकेट एसोसिएसनको सहकार्यमा उक्त ट्यालेन्ट हन्ट आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
विराटनगर किंग्सको मार्की खेलाडी सन्दीप लामिछाने रहेका छन् । "कोशीको शान हाम्रो पहिचान" भन्ने नारासहित टिम कोशीका उदयमान खेलाडीहरुको खोजीमा निस्कन लागेको हो ।