ईलाम । इलामको सन्दकपुर गाउँपालिका ४ माबुमा निर्माण गरिएको समाज सुधारक राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको पूर्ण कदको सालिक अनावरण गरिएको छ ।
फाल्गुनन्दको १४० औं जन्मजयन्तीको अवसरमा आइतबार माबुमा आयोजित कार्यक्रममा सालिक अनावरण गरिएको हो ।
नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाको उपस्थितिमा किरात धर्मगुरु आत्मानन्द लिङदेनले फाल्गुनन्दको सालिक अनावरण गर्नुभयो ।
कोशी प्रदेश सरकारको छ लाख र भक्तजनहरुबाट भेटी सङ्कलन गरी ४५ लाखको लागतमा सालिक निर्माण गरिएको निर्माण समिति सचिव बिबीहाङ साउदेनले जानकारी दिनुभयो ।
लोपोन्मुख अवस्थामा पुगेको किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार र संस्कृतिलाई पुनः उत्थान एवम् सत्मार्ग दर्शनमा डोर्याउन फाल्गुनन्दले विशेष योगदान गरेका थिए । उनको ‘सत्य, शान्ति र अहिंसावादी ‘’ दर्शनलाई पछिल्लो समय किरात समुदायले अनुसरण गर्दै आएका छन् ।
पूर्वी नेपालको इलाम माङसेबुङ गाउँपालिका(२ (साविक इभाङ(५) चुक्चीनाम्बामा वि।स। १९४२ कात्तिक २५ गते जन्मिएका फाल्गुनन्दको वि।स। २००५ चैत २२ गते ६३ वर्षको उमेरमा पाँचथरको सिलौटीमा निधन भएको थियो । फाल्गुनन्दलाई नेपार सरकारले वि।स। २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।