इन्दु साह
विराटनगर । बिहानको ठीक ९ बजे डा.ज्वाला कडेलको दिनचर्या सुरु हुन्छ। दैनिक उनी कोशी अस्पताल विराटनगरको पोस्टमार्टम कक्षतर्फ लाग्छन्। ३६ वर्षको उमेरमा पाचँ सय भन्दाबढी शवको न्याय खोजिरहेका डाक्टर कँडेलको दैनिकी अन्य स्वास्थ्यकर्मी भन्दा फरक छ ।
हरेक लास आफ्नै कथा बोकेका हुन्छन् डा. कडेल भन्छन्–यो काम भावनामा बग्ने होइन, पेसागत दृष्टिकोण राख्नुपर्छ । पोस्टमार्टम कक्षमा प्रवेश गर्नुअघि उनी सुरक्षा पोशाक लगाउँछन्। नेपाली समाजमा लास छोएपछि नुहाएर मात्र घर प्रवेश गर्ने चलन छ । तर उनको लागि यो दैनिकी जस्तै भइसकेको छ। मृत्युको कारण पत्ता लगाउन धेरै कुरा अध्ययन गर्नुपर्छ, उनी भन्छन् । सडक दुर्घटना, बलात्कार, हत्या, आत्महत्या हरेक केसको आफ्नै चुनौती हुन्छ।
बालकदेखि वृद्धासम्मको शव परीक्षण गर्दा कति पटक त घटनाको विवरणले आफै चकित परेको पनि सुनाउँछन् ।
बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म उनको समय अस्पतालमै बित्छ। श्रीमती पनि डाक्टर भएकाले उनको कार्यलाई परिवारमा कसैले अनौठो मान्दैनन्। दश वर्षको पेशागत अनुभवमा उनले आफ्नो मुटु कहिल्यै कमजोर भएको महसुस गरेनन्। मानिसहरूले डाक्टरलाई जीवन बचाउने देवता मान्छन् तर, फोरेन्सिक मेडिसिनले भने मरिसकेकाको न्याय दिलाउने उपचार पनि खोज्छन् । जीवन बचाउनेको महत्व भन्दा अझै धेरै न्याय जोगाउनेको महत्व पनि चिकित्सामा छ ।
यसले न्याय प्रणालीलाई सहयोग गर्छ, अपराध अनुसन्धानमा मद्दत पुर्याउँछ । दिनभरमा उनले २–३ वटा शव परीक्षण गर्छन्। कहिले दुर्घटनाका शिकार, कहिले आत्महत्याका केस, त कहिले हत्याका संदिग्ध केसहरू। हरेक केसको विस्तृत प्रतिवेदन तयार पार्छन्, जुन प्रहरी अनुसन्धानको महत्वपूर्ण आधार बन्छ।
कहिलेकाहीँ घटनाहरू विचलित पार्ने हुन्छन्, उनी भन्छन् मैले यो पेशा रोजेपछि यस्ता चुनौतीहरू स्वीकार्नै पर्छ। केवल लास चिर्ने काम मात्र होइन यो, फोरेन्सिक मेडिसिन क्षेत्रमा अत्यन्त गम्भीरतापूर्वक भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी हुन्छ । डा. कडेलको कथा एउटा साधारण चिकित्सकको मात्र होइन, एक अनुसन्धानकर्ता र न्यायको साक्षीको पनि हो। उनको कार्यले धेरै मृतकका परिवारलाई न्याय दिलाउन मद्दत गर्छ । कानुनी व्यवस्थालाई बलियो बनाउँछ। हाल उनले विराटनगरस्थित कोशी अस्पतालमा आफ्नो अतुलनीय योगदान दिईरहेका छन् । पोस्टमार्टम (शव परीक्षण) सम्बन्धी कानूनी व्यवस्थाहरू मुख्यतया मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा उल्लेख गरिएको छ। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २० मा शव परीक्षण सम्बन्धी व्यवस्था गरिएको छ। कुनै व्यक्तिको शंकास्पद मृत्यु भएमा, आत्महत्या गरेको अवस्थामा,दुर्घटनामा परी मृत्यु भएमा, कर्तव्य ज्यान वा हत्याको शंका लागेमा लगायत अन्य विभिन्न अवस्थामा शव परीक्षण गरीन्छ । साथै शव परीक्षण सम्बन्धि विशेष व्यवस्था व्यवस्थाहरु समेत रहका छन् ।
परिवारको अनुमतिले मात्र शव परीक्षण गर्न सकिन्छ। रकुनै विशेष अवस्थामा अदालतको आदेशले पुनः शव परीक्षण पनि गर्न सकिन्छ । शव परीक्षण प्रतिवेदन गोप्य राखिन्छ ।