इन्दु साह
विराटनगर । विराटनगर–२ त्रिभुज मार्गमा नाला, कलभर्ट तथा पिच गर्ने कार्य न्यूनगुणस्तरको भएको भन्दै स्थानीयले गुनासो गरेका छन्। महानगरपालिकाको बहुवर्षीय ठेक्का तथा गौरवको आयोजनामा पर्ने यो मार्गको काममा वडाध्यक्ष समेतको मिलेमतोमा ठेकेदारले लापरबाही गरिरहेको आरोप स्थानीयले लगाएका हुन् ।
न्यू विजय निर्माण सेवा कम्पनीसँग महानगरपालिकाले २०८० असार ६ गते ठेक्का सम्झौता गरेको आयोजनाको कुल लागत ३ करोड ३८ लाख ४५ हजार रूपैयाँ छ। त्रिभुज मार्ग नामाकरण गरिएको आयोजना अन्तर्गत ९५० मिटर कालोपत्रे, एक हजार ३५० मिटर नाला तथा कलभर्ट निर्माण गर्नुपर्ने छ । महानगरपालिकाले सम्झौता बमोजिम २ करोड एकलाख ८१ हजार ३२८ रूपैयाँ भुक्तानी दायित्व सरेर चालु आर्थिक वर्षका लागि आएको छ ।
तर, यो आयोजनामा ठेकेदारले मनपरी काम गरिरहेको आरोप छ । दैनिक निर्माणको काम नियाल्दै आएका नाङ्लो रेष्टुरेन्टका इश्वर बास्तोलाले बारम्बार गुनासो गर्दा समेत ठेकेदारले न्यून गुणस्तरको काम गरिरहेको दावी गरेका छन् । उनले बारम्बार यो विषय उठाउँदा समेत कसैले चासो नराखेको बताए । केहि महिना अगाडी नाला निर्माण गर्दा पीसीसी ढलान समेत पानीमै गरेको दावी छ । निर्माणाधीन नालामा गुणस्तहीन काम भएको भन्दै बारम्बार वडा अध्यक्षसँग गुनासो पोख्दा समेत ठेकेदारले सच्याउनु भन्दा अझै कमजोरी दोहो¥याउने गरेको आरोप छ । स्टिमेटमा उल्लेख भए अनुसार पीसीसी ढलान नभएको आरोप समेत लगाइएको छ ।
अहिले दुईदिन अगाडि बनाएको नालाको स्ल्याब (ढकन) समेत फुटेको छ । बालुवा गिट्टी र सिमेन्टको मात्रा नमिलाईकन स्ल्याब बनाइरहेको भन्दै स्थानीयले गुनासो गरेका छन् । महानगरपालिकाले ठूलो बजेट पठाएको भएपनि काम गर्ने सिलसिलामा कमजोरी भईरहेकोले समयमै सच्याउनु पर्ने माग छ ।
महानगरपालिकाका इन्जिनियर सुजन श्रेष्ठले भने निर्माणाधिन त्रिभुज मार्गको नाला तथा नालाका ढकनमा समस्या नभएको दाबी गरेका छन् । उनले यदि समस्या नै भईगएपनि भुक्तानी दिन बाँकी रहेकोले ठेकेदारले मापदण्ड अनुसारको काम गरेपछि मात्रै निकासा हुने बताए । उनले अहिलेसम्म निर्माण परीक्षण भईरहेको दावी छ ।