विराटनगर । जनता समाजवादी पार्टीका महासचिव तथा खानेपानी मन्त्री प्रदीप यादवले उपेन्द्र यादवले पार्टीलाई आफ्नो कम्पनी जस्तो चलाएर तानाशाही शासन लागू गर्न खोजेपछि जसपा पार्टी फुटेको बताएका छन् ।
जनता समाजावादी पार्टी जिल्ला कार्यालय मोरङको विराटनगरमा आइतबार बिहान पार्टी कार्यालयको उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।
६ महिना अगाडी जसपा फुटेर अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी गठन भएको छ । सो पार्टीका उपमहासचिव यादवले उपेन्द्र यादवले मसिया भएर दोहोरो रचित्र देखाएको कारणले पार्टीबाट अलग भएर छुट्टै पार्टी निमार्ण गर्नुपरेको बताए । ‘तराईमा उपेन्द्र यादवको भविष्य पनि सकिदै गएको छ । मोरङ, सुनसरी, सप्तरीबाट जनताले लखेटेर हुँदै बारामा पुगेका छन्,’ उनले भने, ‘ बाराका जनताले पनि २०८४ को चुनावमा लखेटनेछन् ।’
जनता समाजवादी पार्टी अन्य पार्टीमा विलय नहुने उनले दाबी गरे । उनले जसपा पार्टीलाई बलियो बनाउन गाउँटोलमा संगठन विस्तारमा सक्रिय हुन नेता कार्यकताहरुलाई आग्रह गरे । आगमी तीन वर्षभित्रमा जसपालाई मुलुकको मुख्य पार्टीको रुपमा निर्माण गर्ने दाबी गरे । पार्टी गठनको ६ महिनामा अवधिमा जिल्ला जिल्लामा पार्टीलाई शक्तिशाली बनाएर अगाडी बढने उनको भनाई छ ।
मोरङ जिल्ला स्तरीय पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा जसपा मोरङ जिल्ला अध्यक्ष मो.नसरुल, उपाध्यक्ष सत्यप्रकाश लुनिया, सचिव विकास मण्डल सहित पार्टीका नेता कार्यकर्ताहरू कार्यक्रममा सहभागि थिए ।