विराटनगर । सप्तकोशी तिर्थयात्रा प्रा.लि. विराटनगरले काठमाण्डौंको टोलिलाई भारतका धार्मिकस्थल दर्शन गराएर फर्कँदा बिहारमा प्रहरीले लुटपाटकै शैलीमा पैसा लिएपछि त्यसको सर्वत्र आलोचना सुरु भएको छ । चार दिन अगाडी नोबेम्बर २१ तारिखमा भारतको अयोध्या दर्शन गरेर बिहार र यूपीको बोर्डर गोपालगञ्जमा आइपुगेको टोलिसँग २० हजार रुपैँया असुलिएको थियो । बिहार प्रहरीले इन्ट्रिशुल्क भन्दै सुरुमा पाँच हजार लिएको र गाडी लिएर अगाडी बढ्न खोज्दा पुनः रोकेर १५ हजार खोसेर लगेको सप्तकोशी तिर्थयात्रा प्रा.लि.का सञ्चालक नरेशकुमार लाभले जानकारी दिएका छन् ।
‘भारतमा प्रहरीको ज्यादती बढ्यो, यसलाई रोक्नका लागि नेपाली राजदुतावास दिल्ली र भारतीय राजदुतावास काठमाण्डौंमा समेत गुनासो लेखाएको छु’ लाभले भने–एसएसपीले सहयोग गर्दछ तर नेपाली भनेपछि त्यहाँका राज्य प्रहरीले आतंकित पार्ने गरि पैसा असुल्ने गरेका छन् । नेपालीलाई बिहार प्रहरीले लुटपाट गरेको समाचार हिन्दुस्तान पत्रिकाले समेत प्रकाशन गरेको छ ।
यस अगाडी उत्तर प्रहरीको ट्राफिक प्रहरीले बारम्बार दुःख दिने गरेपछि त्यहाँका उच्चपदस्थ प्रहरी अधिकारीसम्म उनले रिपोर्ट लेखाएको बताए । त्यसपछि यूपिमा केहि राहत भएपनि बिहारमा अहिले प्रहरीले नेपालीमाथि लुट मच्चाईरहेको उनको गुनासो छ । लाभले भारतीय दूतावासबाट बा ४ क १९२४ नम्बरको मिनी बससहित तिर्थयात्रा पर्मिट लिएका थिए । उनले एल इण्डिया घुम्न पाउने अनुमति लिएर जाँदा पनि टोलटोलमा पैसा असुलेर हैरान पार्ने गरेको बताए । भारतको तिर्थयात्रा घुम्न जाँदा सुत्न सस्तो हुने भएपनि लुटिँदा चाँहि महंगो हुने उनको गुनासो छ । नेपाली गाडी लिएर भारत जाँदा सधैं नै दुःख दिने गरेको उनले बताए । भारतीय गाडी लिएर जाँदा गाडीकै मान्छेहरुले सामान चोरी दिने गरेर हैरान पार्ने गरेको उनको अनुभव छ ।
एक महिनाका लागि ६ हजार ५०० बुझाएर लिएको पर्मिटका आधारमा १३ दिनपछि तिर्थयात्रीको टोलि फर्केको थियो । लाभले आफ्नो सवारीसहित खाना र बस्नको सुविधा दिएर तिर्थयात्रामा लैजादै आएका छन् । बस्ने सहजीकरण उनले गरेपनि पैसा सम्बन्धित व्यक्तिले बुझाउनु पर्ने हुन्छ । तर, खाना भने कम्पनीले नै खुवाउने गरेको छ । गाडीमै खाना पकाउने सामाग्री र खाद्य सामाग्रीको जोहो गर्ने गरिएको छ । लाभका अनुसार २१ हजार रुपैँयाको प्याकेजमा भारतको गया, काशी, बनारस, प्रयागराज, नेबीसारानिय, आग्रा, मथुरा, बृद्धाबन, हरिद्वार, ऋषिकेश, अयोध्यासम्म दर्शन गराउने गरिएको छ ।