इशु पन्त
विराटनगर । सुनको भाउ घटे लगत्तै विराटनगरका सुनचाँदी पसलमा घुइँचो लागेको छ । सरकारले सुन आयातमा भन्सार महशुल घटाएपछि नेपाली बजारमा प्रतितोला १५ हजार ९०० मूल्य घटेको छ । सुन खरिदकर्ता इर्साद महोमद खानका अनुसार सुनको भाउ तोलामा एकै चोटी १५ हजार ९०० घट्नु अविश्वसनीय लागेको बताउँछन् । उनले घटेकै बेला सुन खरिद गर्ने चाहना राखेको सुनाए । सुनको भाउ बढिहाल्छ कि भनेर पनि उनी खरिद गर्न आएका हुन् ।
ठाकुरवाडी रोडस्थित राठी गोल्डमा भेटिएकी ग्राहक रोजिना दाहाल पनि आफू सुन किन्ने पर्खाइमा रहेका बेला मूल्य घटेको सुनाइन् । सुनलाई शुभ सम्पति भनेर मानिएका कारण पनि मूल्य घटेकै बेला खरिद गर्न मन लागेको सुनाइन् ।
राठी गोल्डका संचालक अजय राठीले बिहेको सिजनमा मूल्य घट्दा ग्राहकलाई राहत भएको सुनाउँछन् । अर्को कुरा सुनका गहना बनाउनेहरुलाई समेत यसले केहि न केहि राहत दिएको उनको भनाई छ । उनका अनुसार अरु बेला भन्दा सोमबार १५ प्रतिशत ग्राहक पसलमा बढी देखिएका छन् ।
नेपालमा सुनको मूल्य महंगो हुँदा भारतबाट काँचो सुन खरिद गरेर ल्याउने क्रम बढेको थियो । काँचो सुन ल्याउनेहरुले गहना बनाउन भने नेपालमा दिने गरेका थिए । भारतमा भन्दा नेपालमा महंगो हुँदा त्यसको असर अवैध आयातमा समेत पर्ने देखिन्थ्यो । सरकारसँग सुनचाँदी व्यवसायीले आयातमा भन्सार दर घटाउन माग गर्दै आएका थिए ।