विराटनगर । भारतीय गुन्डा नाइके लरेन्स विश्नोई र झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाँईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा युवा पक्राउ परेका छन् । उनी झापाका हरिचन्द्र फुँयाल भएको खुलेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले फुँयाललाई झापामा पक्राउ गरेर शुक्रबार काठमाडौं लगेको हो । फुँयालले किन र कसरी यी दुई व्यक्तिको नाममा व्यवसायीलाई धम्की दिए भन्ने कुरा अनुसन्धान भईरहेको सिआईबीले सञ्चारमाध्यमलाई बताएको छ । केही समयअघि विश्वनोईको नाम लिएर धम्की दिएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए । भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको व्यवसायीको भनाइ थियो ।
अनुसन्धानका क्रममा झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाम लिएर पनि धम्की आएको खुलेको थियो । अहिले झापाबाटै सीआईबीले फुँयाललाई पक्राउ गरेको छ । जसको नाम लिएर धम्की दिएको भनिएको छ, ती दुवै व्यक्ति जेल र हिरासतमा छन् । प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो । उनीमाथि अहिले साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान गरिरहेको छ ।
विश्नोई भने अहिले भारतको तिहाड जेलमा छन् । उनीमाथि फिरौती असुली र हत्याको आरोप छ । पहिले उनी महाराष्ट्रको सेन्ट्रल जेलमा थिए । पछि जेलभित्रबाटै गिरोह चलाएको खुलेपछि तिहाड जेलमा सारिएका थिए । उनले पटक–पटक भारतीय अभिनेता सलमान खानलाई पनि ज्यान मार्ने धम्की दिने गरेका थिए ।