-नवराज पोख्रेल "नवशिला"
प्रहरहरू बदलिँदैछन् मिनारहरू बदलिँदैछन्
सुस्त सुस्त मनभित्रका आकारहरू बदलिँदैछन्।
पाकेकाछन् आँखाहरू थाकेकाछन् आजभोलि
कुण्ठित बनी छातीभित्र सारहरू बदलिँदै छन्।
निष्पाप र निर्दोषी नै दोषी लाग्छन् हिजो आज
अचेल सम्मान सत्कार आभारहरू बदलिँदैछन्।
दिनदुःखीको भाग्य लेख्ने मसी फरक हुँदो रहेछ
कसले भन्छ गरिबका निधारहरू बदलिँदैछन्।
न त दया भाव छ यहाँ न छ भगवानको बास
मन्दिर अनि चर्च गुम्बा बिहारहरू बदलिँदैछन्।
त्रास संकट छ आजभोलि विपत्ति छ चारैतिर
मेची कोसी कर्णालीका किनारहरू बदलिँदैछन्।
सज्जनहरू हारेका छन् दुष्टहरूकै जित भाछ
छैन साँचो सत्य मनमा विचारहरु बदलिँदैछन्।
बेलबारी -२, नवदेव मार्ग, लालभित्ती, मोरङ ।