विराटनगर । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइराला पक्षधरको मंगलबार विराटनगर जैन भवनमा हुने कोशी प्रदेश स्थानीय तहस्तरीय सभापति भेलामा केन्द्रीय मुख्यालयले ‘अब्जेक्सन’ जनाएको छ ।
नेपाली कांग्रेस केन्द्रीय मुख्यालयले कोशी प्रदेश समितिलाई पत्र पठाउँदै शेखर कोइराला समूहको समानान्तर भेलामा आधिकारिक नभएकोले सहभागी हुनुपर्ने कुनै बाध्यता नरहेको भन्दै निर्देशन गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रदेश समितिलाई सोमबार पत्र पठाउँदै वैधानिक प्रावधान अनुरुप सबै तहको सम्मेलन गर्ने प्रक्रिया सुरु हुनुपूर्व नै कोशीमा गर्ने भेलाको कुनै आधिकारिता नभएको उल्लेख गरेको छ । काँग्रेसले कोशीमा मंसिर २२ मा प्रदेश सम्मेलन आयोजना गर्ने तयारी गरेको छ ।
मुख्यालयले पठाएको पत्रमा पार्टीको जुन तहको कार्यसमिति हो, त्यसले त्यही तहभित्रकै कार्यक्रम आयोजना, समन्वय र नेतृत्व गर्ने वैधानिक व्यवस्था रहेको उल्लेख छ । यसक्रममा कोशी प्रदेशको सम्मेलन मंसिर २२ गते विराटनगरमा हुने गरी प्रदेश समितिको आयोजनामा कार्यक्रम निर्धारित भईसकेको अवस्थामा सम्मेलन पूर्व प्रदेश स्तरीय पार्टीको कुनै पनि कार्यक्रम नरहेको जानकारी जिल्ला तहमा गराइएको छ ।