विराटनगर । भारतीय लगानीकर्ताले चासो बढाएपछि विराटनगर जुट मिलको छ वर्षदेखिको लेखा परीक्षण सुरु गरिएको छ । नेपालको पहिलो उद्योग जुट मिल २०७८ जेठ २४ गतेदेखि आधिकारिक समितिविहीन बनेको थियो ।
सरकारले २०८१ जेठ ३० गते सञ्चालक समिति सदस्य नियुक्त गरेपछि २०८१ असार ५ गते अध्यक्ष राजेन्द्र कार्की चयन हुनु भएको थियो । अध्यक्ष कार्कीका अनुसार सरकारले टिकाराज ढकाल, शेयर सदस्यबाट मुकुन्द नेपाल र वाणिज्य कार्यालय विराटनगरका प्रमुख तथा कोष तथा नियन्त्रण कार्यालयका प्रमुख पदेन सदस्य रहने गरी सञ्चालक नियुक्त गरेको थियो ।
सञ्चालक समितिले २०७५ सालदेखिको आन्तरिक लेखापरीक्षणको काम अन्तिम चरणमा पु¥याएको छ । सञ्चालक समितिलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीनवटा कार्यदेश दिएको थियो । जसमध्ये लेखा परीक्षण गराउने, सम्पति संरक्षण तथा व्यवस्थापन गर्ने र साधारणसभा सम्पन्न गरेर जुट मिल सञ्चालन कार्यविधी तयार पार्ने । अध्यक्ष कार्कीका अनुसार आन्तरिक लेखा परीक्षण सकाएपछि महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षक तोकेर पठाउँछ । त्यसले जुट मिलको अन्तिम लेखा परीक्षण प्रतिवेदन तयार पार्नेछ । सरकारको ५० प्रतिशत भन्दा बढी शेयर रहेको उद्योगको लेखा परीक्षण महालेखा परीक्षण कार्यालयले तोकेको लेखा परीक्षकबाट हुने प्रावधान रहेको छ । जुट मिलमा सरकारको ६८ प्रतिशत शेयर कायम भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुँदाताका नै जिर्ण उद्योग सञ्चालनका विभिन्न मोडालिटी बारे अध्ययन सुरु गरिएको थियो । त्यसबेला नै भारतीय कम्पनीलाई जुट मिल सञ्चालन गर्न दिने भन्दै प्रारम्भिक अध्ययन भएको थियो । भारतको टाटा बिडला कम्पनीले जुट मिलको १५ दिनसम्म विज्ञ समूहमार्फत अध्ययन सकेको छ । त्यस बाहेक भारतको जलान ग्रुप अफ इण्डट्रिज र विनसन इन्टरनेशनल कम्पनीले समेत अहिले जुट मिल सञ्चालनका लागि चासो दिएर अध्ययन गरिरहेको कार्कीले जानकारी दिनुभयो ।
जुट मिलको स्वामित्वमा रहेको बहुमूल्य जग्गा बाहेक अब अन्य मेशिनरी सामाग्री थोरै मात्रै काम लाग्नेस्तरका रहेका छन् । २०७८ सालपछि जुट मिलमा आधिकारिक समिति नहुँदा पप्पु नाम गरेका एक व्यक्तिले संरक्षणका नाममा दशजना सेक्युरिटी गार्ड राखेर रेखदेख गर्दै आएको दावी गरेका छन् । नयाँ समिति नियुक्त भएपछि व्यक्तिगत तवरको यो रेखदेखलाई हटाइएको कार्कीले जानकारी दिनुभयो । अहिले जुट मिलमा दशजना कर्मचारी राखिएको छ । जसमा लेखा तथा प्रशासन प्रमुखको रुपमा श्याम लाख, सहायक लेखापाल, कार्यालय सहयोगी र ६ जना सुरक्षा गार्ड राखिएको छ ।
जुट मिल अहिले आम्दानीविहीन रहेको छ । जुट मिल परिसरमा बनेका घरटहराबाट उठ्दै आएको भाडा समेत दिन छोडेका कारण आर्थिक संकटमा रहेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । दमकमा रहेको जुट गोदाम भाडामा लगाएकोले त्यहाँबाट आउने मासिक ७० हजार रुपैँया मात्रै आम्दानीमा बाँधिने स्रोत मानिएको छ । यदि विराटनगर जुट मिलको क्वाटर तथा परिसरका पसलको भाडा उठ्दा भने मासिक चारलाख रुपिँया आम्दानी हुनेछ । त्यसैको भरमा कर्मचारी नियुक्त गरिएपनि अहिले उद्योगको जग्गामा बनेका घर टहरामा सञ्चालित पसलहरुका धनीले भाडा नबुझाउने भनेर अड्डी कस्ने गरेका छन् ।
विराटनगर जुटमिलले चर्चेको ४९ बिगाहा जग्गा बाहेक परिसरमा १७ बिगाहा जग्गा रहेको छ । विराटनगर जुट मिलको ६६ बिगाहा १० कठ्ठा १९ धुर जग्गा अहिले पनि देखिन्छ । त्यस बाहेक दमक नगरपालिकामा ९ कठ्ठा ७ धुर जग्गा रहेको छ । दमकमा पुरानो जुट गोदाम अहिले भाडामा लागिरहेको छ ।