विराटनगर । भारतका प्रसिद्ध २ उत्पादनका ब्रान्ड नेम र प्याकेजिङ उस्तै देखिने गरी बनाएर डिटर्जेन्ट पाउडर उत्पादन गर्दै आएको उद्योग सिलबन्दी गरिएको छ ।
जिल्ला प्रशासन मोरङले विराटनगर महानगरपालिका वडा नम्बर ५ दामाबन्दीस्थित युनिक सोप एन्ड केमिकल इन्डस्ट्रिज बिहिवार साँझ सिलबन्दी गरेको हो ।
युनिक सोपले भारतमा उत्पादन गरिने फेना ब्रान्डको डिटर्जेन्ट पाउडरलाई युनिक फेना र पतञ्जली ब्रान्डको डिटर्जेन्ट पाउडरलाई पतजली ब्रान्डमा उस्तै देखिने प्याकमा उत्पादन गरेर बजार पठाउँदै आएको फेला परेको छ । प्रशासनका अनुसार उद्योगले उद्योग विभागबाट युनिक फेना र पतजली ब्रान्डको डिटर्जेन्ट पाउडर उत्पादन गर्न अनुमति लिएको छैन । साथै अहिले जेजस्तो प्याकेजिङमा उत्पादन गरिरहेको छ, त्यसको पनि स्वीकृति छैन ।
उद्योगले नेपाल सरकारले ब्रान्ड स्वीकृत गरेका भारतीय उत्पादन फेना र पतञ्जलीजस्तै देखिने प्याकेजिङमा उत्पादन गरेको उजुरी परेको हुँदा कार्यालयको टोली उद्योगमा पठाएर सिलबन्दी गरिएको हो । उद्योगका सञ्चालक मनोज यादवले आफ्नो उद्योगले कसैको ब्रान्ड नचोरेको बरु उनीहरुले भन्सार छलेको बताए । क्यारिङमा माल ल्याएर बेच्छन् फेना, मेरो नेपाली युनिक फेना हो, यादवले भने, सिडिओले क्षेत्राधिकार मिच्यो ।