काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा तीन हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन् ।
सन् २०२४ मा इपिएसमार्फत उत्पादन क्षेत्रमा काम गर्न जानका लागि २६ हजार तेस्रो चरणको भाषा परीक्षामा सहभागी भएकोमा तीन हजार १२६ परीक्षार्थी उत्तीर्ण भएका हुन् ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाका अनुसार यो सङ्ख्या हालसम्म सञ्चालन भएको तीन चरणको भाषा परीक्षासहित छनोट गरिने १६ हजार चार सयमध्येको हो । यसअघिका दुई चरणको भाषा र सिप परीक्षा सम्पन्न भइसकेको थियो । भाषा परीक्षा पुस २ गते मंगलबार सकिएको थियो दक्षिण कोरिया जान सम्भावित सूचीमा रहेका युवाको सङ्ख्या कम हुन थालेपछि परीक्षा सकिएलगत्तै नतिजा सार्वजनिक गरेको कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले जनाएको छ ।
सो शाखाका अनुसार परीक्षाका लागि आवेदन दिने नेपालीको सङ्ख्या धेरै भएपछि तीन चरण परीक्षा सञ्चालन भएको हो । १० महिनामा तीन चरणको परीक्षण सम्पन्न भएको हो ।
सो शाखाका सूचना अधिकारी कमलराज श्रेष्ठले भाषा परीक्षामा उत्तीर्णको सिप परीक्षाको समय तालिका यही साताभित्र सार्वजनिक गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार तीन चरणमा लिएको भाषा परीक्षामा एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएकोमा १६ हजार चार सय युवा छनोट गरेर पठाउने हो ।
पहिलो र दोस्रो चरणमा उत्तीर्ण युवा हाल रोस्टरमा रहेको र केही कोरिया गइसकेको सो शाखाले जनाएको छ । कोरियाले रोस्टरका रहेका युवालाई त्रैमासिक रूपमा छनोट गर्ने गरेका कारण हाल उत्तीर्ण भएका युवालाई यो अर्को वर्ष छनोट तालिकाभित्र पार्ने गरेको छ ।
दक्षिण कोरियाले इपिएस अन्तर्गत सन् २०२४ का लागि नेपाललाई तोकेको कोटा थप गरेका कारण सन् २०२५ मा धेरै नेपालीले कोरियाको रोजगारी पाउने सम्भावना रहेको छ । सन् २०२३ मा इपिएस अन्तर्गत १९ हजार ६९८ नेपाली दक्षिण कोरिया प्रवेश गरेकामा २०२४ को हालसम्म सात हजार युवा कोरिया गइसकेका छन् ।