इन्दु साह
विराटनगर । विराटनगरमा एक निजी विद्यालय सुटुक्क बिक्री गरेर सञ्चालक सम्पर्कविहीन हुँदा सात महिनादेखिको तलव नपाएर शिक्षक–शिक्षिका भने छट्पट्टीमा परेका छन् । विराटनगर ८ मा रहेको बालबाटिका सेकेण्डरी इङ्लिस बोर्डिङ्गका सञ्चालकले विद्यालय बिक्री गरेर सम्पर्कविहीन हुँदा शिक्षक कर्मचारी भने हेरेको हेर्यै भएका हुन् ।
पारिश्रमिक नदिईकन विद्यालयको स्वामित्व हस्तान्तरण गरेका राजन कुमार छाराहाङ्ग विरुद्ध अहिले पीडित शिक्षक–शिक्षिकाले विराटनगर महानगरपालिकाको न्यायिक समितिमा उजुरी हालेका छन् । छाराहाङ्गले विद्यालय बिक्री गर्दा शिक्षक–कर्मचारीको विषय खुलाएका छैनन् । नेशनल एकेडेमीका सञ्चालक सकलदेव साहले बालबाटिका खरिद गरेका हुन् । विद्यालयका विद्यार्थीसहित साहले स्वामित्व ग्रहण गरेपनि शिक्षक–कर्मचारीको विषय केहि खुलाइएको थिएन ।
न्यायिक समितिमा १० जना शिक्षक–शिक्षिकाले पारिश्रमिक दिलाई दिन अनुरोध गर्दै दिएको उजुरी अनुसार उनीहरुको पक्षमा निर्णय भएको थियो । तर, पनि छाराहाङ्गले तलब दिने त के सम्पर्क समेत टुटाएर बसेका हुन् । शिक्षक शिक्षिकाहरुले बारम्बार ताकेता गर्न जादा पैसा दिन पक्षमा नरहेको झैं व्यवहार गर्ने गरेका थिए । बालबाटिका बिक्री गर्दा उक्त विद्यालयमा भएका कुनै कर्मचारीहरुलाई जानकारी समेत गराइएको थिएन ।
उनी भाषणमा खरो कुरा गरेपनि व्यवहारमा कमजोर रहेको शिक्षक कर्मचारीको गुनासो छ । न्यून तलबमा राखिएका शिक्षक–शिक्षिकाले पाउनु पर्ने एकमुष्ट रकम ६० देखि ७० हजारसम्म रहेको छ । दश जना बढी उनीहरुको मासिक तलब दश हजार आसपास रहेको थियो । श्रम शोषण गरेर काममा लगाए पनि उनीहरुको पारिश्रमिक नदिईकन विद्यालय बिक्री गरेपछि शिक्षक कर्मचारी अहिले न्यायको खोजीमा लागेका छन् ।
नेशनल एकेडेमीका संचालक सकलदेव साहले भने कर्मचारीको जिम्मेवारी आफुले नलिएको बताउछन् । उनले खरीद गरेको विद्यालयको स्वामित्व हस्तान्तरणका क्रममा समेत राजन कुमारले लफडा गरेको बताउछन् । प्रिन्सिपल राजन कुमारको विरुद्दमा २०८० चैत्र २३ मा पहिलो १० जना शिक्षिकाको समुहले निवेदन दिएका थिए । त्यस पश्चात फेरी २०८१ मा सोहि प्रिन्सिपलको विरुद्दमा फेरी एक व्यक्तिले निवेदन दिएका छन् । महानगरपालिकाको न्यायिक समितिले पारीश्रमिक नदिएसम्म छाराहाङ्गको सम्पत्ति रोक्का समेत गरिदिएको छ ।