इन्दु साह
विराटनगर । विराटनगरका नगर प्रहरीले बुधबार विराटनगरका मुख्य सडक छेउका फुटपाथको अनुगमन गरेको छ ।
व्यवसायीहरूले फुटपाथ मिचेर सामान राख्ने र फोहोर गर्ने गरेको पाइएपछी अनुगमन गरिएको हो ।
नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार अनुगमनमा विभिन्न व्यवसायीहरूले फुटपाथ मिचेर सामान राखेको र पैदल यात्रुलाई हिँड्न कठिनाइ भएको पाइएको छ । विशेषगरी ग्यारेज, कवाडी व्यवसाय लगायतका व्यवसायीहरूले फुटपाथ अतिक्रमण गरेका छन् । यसका कारण पैदल यात्रुहरू मुख्य सडकबाट हिँड्न बाध्य भएका छन् । सरोचियामा रहेको कवाडी व्यवसायीलाई विशेष निर्देशन दिइएको छ ।
प्रमुख पौडेलका अनुसार उक्त स्थानबाट कवाडी व्यवसाय अन्यत्र सार्न सुझाव दिइएको छ । दैनिकजसो कवाडी व्यवसायिले सामानहरू नालाको ढक्कनमाथि राख्ने गरेका छन् । बस्ती क्षेत्रमा कवाडी व्यवसाय राख्दा आगलागी जस्ता जोखिम हुन सक्छ प्रमुख पौडेलले भने । उनले कवाडी व्यवसायीलाई खाली स्थानमा सर्न निर्देशन दिएको जानकारी दिए । तर दैनिक अनुगमन गर्दा पनि फुटपाथको अवस्था सुधार नभएको पाइएको छ । नगर प्रहरी प्रमुख पौडेलका अनुसार नियमित अनुगमन गरिए पनि हालसम्म कुनै व्यवसायीलाई कारबाही गरिएको छैन ।
यसले गर्दा फुटपाथको अवस्था दिनप्रतिदिन खराब हुँदै गएको छ । महानगरले दैनिक अनुगमनको दावी पगरेपनि उक्त अनुगमन प्रभावकारी देखिएको छैन । बजार क्षेत्र देखि लिएर मुख्य सडकसम्मको फुटपाथको सहि प्रयोग भएको पाईएको छैन । व्यापारीहरुल दैनिक सटर बाहिर फुटपाथसम्म सामान राख्ने गर्दछन् । साथै कतिपय व्यवसायिले पसल,हेटलको नामलेखिएको बोर्ड फुटपाथमै राख्ने गरेका छन् ।