इन्दु साह
विराटनगर । विराटनगरमा सिटी सफारीको संख्या अधिक छन् भन्ने कुरा स्थानीय सरकारको तथ्यांकले नै प्रमाणित गर्छ । विराटनगर महानगरपालिकामा दुई हजार ५० वटा दर्ता छन् । तर, दैनिक दश हजार सफारी बजारमा कुद्ने बताइन्छ । यसको मतलव शहरको जनघनत्वमा सिटी सफारीका घनत्व अधिक छ । जसले समग्र सवारी घनत्वलाई बढाएको मात्रै छैन शहरी आवागमनलाई प्रभावित समेत बनाउँदै आएको छ ।
सिटी सफारीको संख्या आवश्यक भन्दा धेरै भएपनि नियन्त्रण गर्ने कुनै उपाय निस्केको छैन । तर, सिटी सफारीका साहु नेपाली र यसका चालक भारतीय नागरिक समेत रहेको पाइएको छ । नेपाली साहुले १५ वटासम्म सिटी खरिद गरेर भारतीय चालकलाई दैनिक ज्यालादारीमा दिने गरेका कारण दुर्घटना भई हाले चालक भागिदिने गरेका घटना समेत हुने गरेका छन् । एकवर्ष अगाडी सिटी सफारीले बाइक रोकेर बसिरहेका विराटनगर ९ का अनिल साहलाई ठक्कर दिएपछि चालक भागेका थिए । उनी भारतीय नागरिक रहेकाले नेपाली साहुले साहको उपचार तथा बाइक मर्मतका लागि एकलाख ३० हजार रुपैँया बुझाएका थिए ।
यो प्रतिनिधि घटना बाहेक पनि अहिले विराटनगरका दैनिक दुईसय भारतीय नागरिक सिटी सफारी चालकको रुपमा काम गर्दै आएको दावी स्थानीयको छ । यद्यपी उनीहरुसँग कागजात भएनभएको यकिन गर्ने निकायले यो काम गर्न भ्याएको छैन । विराटनगर महानगरपालिकाका नगर प्रहरी प्रमुख राजन पौडेल विराटनगरमा अहिले १५ हजार हाराहारी सिटी सफारी रहेको दावी गर्दछन् । गतवर्ष भन्दा यो वर्ष अझै बढेको उनको बुझाई छ । उनका अनुसार सीमावर्ती क्षेत्रबाट बजारसम्म आउने अधिकांश भने भारतीय चालक रहेका छन् । विशेष गरी नेपाली साहुको सिटी दिनभरी चलाएर साँझ भारत घर फर्कनेहरुसँग आधिकारिक डकुमेन्ट हुँदैन । नगर प्रहरी निरीक्षक पौडेलले यसको चेकजाँच गर्नुपर्ने, परिचय खुल्ने कागजात अध्ययन गर्नुपर्ने जरुरी रहेको छ ।
मोरङ जिल्ला ट्राफिक प्रमुख राजन लम्सालका अनुसार सवारी दुर्घटना भएमा वा ट्राफिक जाँचको क्रममा चालकसँग आवश्यक कागजपत्र नभेटिएमा सवारी धनीलाई समेत कानून बमोजिम कारबाही हुने व्यवस्था रहेको छ । उनका अनुसार सवारी चालकसँग ड्राइभिङ लाइसेन्स, ब्लूबुक लगायतका आवश्यक कागजात अनिवार्य रूपमा हुनुपर्छ । यसको दैनिक चेकजाँच गरिने गरिएको छ । हामीले पनि यस्ता गतिविधिको बारेमा सुनेका छौं तर अहिलेसम्म कुनै पनि भारतीय चालक पक्राउ परेका छैनन् लम्सालले भने । खुला सीमानाको कारण नेपाल–भारत आवतजावत सहज भएकोले धेरै भारतीय नागरिकहरू दैनिक रूपमा नेपाल आउने र साँझ फर्कने गर्छन् भने केहीले कोठा भाडामा लिएर बस्ने गरेका छन् ।
यदि यस्ता भारतीय चालकहरूले चलाएको सवारी साधन दुर्घटनामा परेमा र चालकसँग आवश्यक कागजात नभएको खण्डमा सवारी धनी समेत कानूनी कारबाहीमा पर्न सक्ने ट्राफिक प्रमुख लम्सालले बताए । नगर प्रहरी निरीक्षक पौडेलका अनुसार भारतबाट सामान लिएर आउनेहरुको काममा धेरै भारतीय चालक भएका सिटी प्रयोग हुने गरेका छन् ।