बुढीगंगामा सडकसँगै बन्ने ड्रेनसँग स्थानीय असन्तुष्ट

<span class='c1'>बुढीगंगामा सडकसँगै बन्ने</span> <span class='c2'>ड्रेनसँग स्थानीय असन्तुष्ट</span>

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ टंकीसिनवारी चौकदेखि पूर्व सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३ गणसम्मको सडक पूर्वाधार विस्तारसँगै निर्माण हुन लागेको नालाको विषयलाई लिएर स्थानीयले असन्तुष्टि जनाएका छन् । सडक डिभिजन कार्यालय विराटनगरले पहिलो चरणको निर्माण ठेक्का लगाएको योजनाले स्थानीयवासी बाढी तथा डुबानबाट पीडित हुनुपर्ने भन्दै उनीहरुले पानीको निकास व्यवस्थापन गर्न भनेका हुन् ।

स्थानीयले टंकीसिनवारीदेखि जम्मा भएको पानी दुई किलोमिटर पूर्व रहेको खदरा (खोल्सा)मा झार्ने गरी सडकमा आरसीसी ड्रेन निर्माण गर्न लागेकोमा विरोध जनाएका छन् । स्थानीय सरकार बुढीगंगा गाउँपालिकाले डुबान नियन्त्रणका लागि बस्तीको पानी खदरामा निकास गरेर सिंघिया खोलामा मिसाउन योजना अगाडी सारेको थियो । सोहि योजना अनुरुप संघीय सरकार अन्तर्गतको सडक डिभिजन कार्यालयमार्फत स्रोत सुनिश्चित गरेर ठेक्का आह्वान भएको हो । तर, स्थानीयले भने सडकसँगै निर्माण हुने आरसीसी ड्रेनको निकास खदरामा मिसाउन नहुने माग गरेका हुन् ।

सडक तथा नालाको उपभोग गर्ने सेवा क्षेत्रका बासिन्दाले भने खदरामार्फत सिंघीयामा पानी पठाउँदा त्यसले नदी तटीय क्षेत्रमा बाढीको जोखिम हुने बताएका छन् । उनीहरुले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर सडकसँगै निर्माण हुने ड्रेनमा निश्चित स्वार्थ समूह हावी भएको आरोप लगाएका हुन् ।

पत्रकार सम्मेलनमा स्थानीय सुनिल क्षेत्रीले सरकारको योजना कार्यन्वयनमा आउनु अगाडी उपभोक्तासँग कुनै परामर्श नलिईकन, डिपिआर तथा वातावरणीय प्रभाव मूल्यांकन नगरीकन काम थालिएको आरोप लगाउनुभयो । उनीहरुले यदि ड्रेन बनाएर पानी खदरा हुँदै सिंघीयामा मिसाउने हो भने नदी तथा खदरामा तटबन्ध पहिले गरिनुपर्ने माग अगाडी सारेका छन् । अर्का स्थानीय भक्तबहादुर कटवालले खदरा तथा सिंघीया खोला तटीय क्षेत्रका बासिन्दा वर्षेनी बाढीको जोखिममा परिरहेको बेला दुई किलोमिटरदेखिको पानी मिसाउँदा झन् जोखिम हुने दावी गर्नुभयो । ‘आरती स्ट्रिप्स र सुर्य नेपालको ईच्छा अनुसार यो काम स्थानीय सरकारको पहलमा भईरहेको छ’ पत्रकार सम्मेलनमा क्षेत्रीले भन्नुभयो–वस्ती जोगाउने की करोडौं लगानीका उद्योगको ईच्छा अनुसार योजना बनाउने सरकारले बुझ्नुपर्ने कुरा छ । उहाँले यदि योजनाले वस्तीका वासिन्दा प्रभावित हुन्छन् भने त्यसलाई कार्यन्वयन गर्न नदिन विभिन्न चरणका आन्दोलनमा उत्रने चेतावनी समेत दिनु भएको छ ।

सडक डिभिजन कार्यालय विराटनगरका इन्जिनियर एवं सूचना अधिकारी शितल पराजुलीका अनुसार टंकीसिनवारी चौकपूर्व योजनाका लागि एक करोड रुपिँया बजेट व्यवस्थापन भएको छ । जुन बजेटमध्ये ५५ लाख १९ हजार ८७९ रुपिँयामा ठेक्का लागेको हो । चालु आर्थिक वर्षका लागि गत पुस ८ गते सम्झौता ठेकेदार कम्पनी विश्ववैभव कन्सल्टेन्सी कन्ट्रक्सन एण्ड सप्लायर्ससँग भएको सम्झौता अनुसार २०८२ असार २४ गतेसम्ममा तोकिएका निश्चित कामहरु सम्पन्न गर्नुपर्ने छ । जसमा सडकका लागि आवश्यक संरचना बन्नेछन् । इन्जिनियर पराजुलीका अनुसार कल्भटसहित प्लमवाल २९३ मिटर, एजिङवाला २९० मिटर, आरसीसी ड्रेन २९५ मिटर, ह्यूमपाइपसहितका कार्य रहेका छन् । चालु आर्थिक वर्षमा बजेटले भ्याए जति काम गरेपछि आगामी वर्ष त्यसमा अल्पाल्ट कालोपत्रेको कार्य गर्ने योजना राखिएको हो । ‘सडक चौडा बनाउने संरचनाहरु यस आर्थिक वर्षका लागि निर्माण तोकिएका छन्’ इन्जिनियर पराजुलीले भन्नुभयो–बाँकी कामका लागि आगामी वर्षका योजनामा समेटिने लक्ष्य छ ।

स्थानीयले भने सडक विस्तार गर्दा त्यहाँको पानी निकासका लागि दुई किलोमिटर पूर्वको खदरामार्फत सिंघीया खोलाको विकल्पमा कोशी राजमार्गको नालामा मिसाउनु पर्ने माग गरेका हुन् । सडक निर्माण बिन्दु टंकीसँगै जोडिएको वाइवेमा दुई किलोमिटर पूर्व रहेको सशस्त्र बेस क्याम्पदेखिको पानीको निकास जोड्नुपर्ने भन्दै स्थानीयले गाउँपालिकामा ध्यानाकर्षण गराएका छन् ।

बुढीगंगा गाउँपालिकाका १ का वडा अध्यक्ष सोमराज काफ्लेले भने वस्तीको पानीको निकास राजमार्गको नालामा मिसाउन संभव नरहेको दावी गर्नुभयो । उहाँले राजमार्गको पानीको निकास खोलामार्फत खोज्नुपर्नेमा वस्तीको पानीको निकास राजमार्गमार्फत गर्ने भन्ने माग नै नाजायज भएको जिकीर गर्नुभयो । सेवा क्षेत्रका वासिन्दाले सडकसँगै निर्माण हुने नालाको विषयलाई लिएर गुनासो गर्नु आफैंलाई विकास चाहिदैन भन्नुमात्रै हो, वडा अध्यक्ष काफ्लेले भन्नुभयो–खदरामार्फत सिंघीया खोलामा पानीको निकास लाँदा वस्तीलाई असर गर्दैन । वडाअध्यक्ष काफ्लेले निर्माण योजना राजमार्ग पूर्व रहेको भएपनि स्थानीयवासीले राजमार्ग पश्चिमको केशलिया खोलामा पानीको निकास गर्नुपर्ने माग गर्दै आएको बताउनुभयो । यो अस्वभाविक र असंभव माग हुने उहाँको दावी छ । निर्माणाधिन योजनादेखि दुईकिलोमिटर दुरीमा सिंघीया खोला रहेको छ भने राजमार्ग क्रस गरेपछि पश्चिमतर्फ पाँचकिलोमिटर दुरीमा केशलिया खोला रहेको छ ।

कोशी राजमार्ग छलेनमा विस्तार हुँदा यसको उचाई वस्तीभन्दा माथि गरिएको छ । जसका कारण उत्तर–दक्षिण राजमार्गको नालामा पूर्व–पश्चिम वस्तीका लागि निर्माण भएका सडकका नालाबाट पानीको निकास हुननसक्दा वर्षातमा सधैं डुबान हुँदै आएको छ । बुढीगंगामा औद्योगिक क्षेत्रको पानी समेत समेटिएर वर्षात्को समयमा विराटनगरको उत्तरी क्षेत्रका वडाहरु समेत डुबानमा पर्दै आएका छन् । निर्माणाधिन ड्रेनसहितको सडक योजनाले वस्तीको पानी खोलामा पु¥याउने लक्ष्य राखिएको दावी स्थानीय सरकारको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्