पथरी (मोरङ) । पथरी शनिश्चरे–४ स्थित पासवान बस्तीमा सहलेस मन्दिर बन्न थालेपछि यहाँका स्थानीय निकै खुसी भएका थिए । विसं २०७७/७८ मा नगरपालिकाको एक लाख ७५ हजार र जनश्रमदानबाट मन्दिर बन्न सुरु भएपछि स्थानीय खुसी भएका थिए तर त्यो खुसी धेरै टिकेन । मन्दिर निर्माणको काम अधुरै रह्यो । पाँच वर्षदेखि त्यो काम ठप्पै छ ।
हालसम्म मन्दिर निर्माणमा कसैले सहयोग नगरेपछि स्थानीय पासवान समुदाय आक्रोसित छ । स्थानीय भागवत पासवानले मन्दिर निर्माण शुभारम्भ भए पनि त्यसले पूर्णता नपाएको र पछिल्लो नेतृत्वले यसतर्फ कुनै चासो नदेखाएको गुनासो गर्नुभयो ।
मन्दिर निर्माणका लागि जग्गादान गर्नुभएका दिलीप पासवानले सलहेसको मन्दिर गाउँमै बनेपछि कुलपित्री र देवीदेवताको पूजापाठ हुने भनेपछि आफूले जग्गा दिएको स्मरण गर्नुभयो । जग्गा दिए पनि मन्दिर निर्माणलाई प्राथमिकता नदिएकामा आफूलाई नरमाइलो लागिरहेको उहाँको भनाइ छ । “सहलेस हाम्रो आस्थाको देउता हुन् । गाउँमै मन्दिर बन्ने र पासवान समुदाय नै लाभान्वित हुने भनेपछि जग्गा दिएको थिए तर मन्दिर निर्माण गर्ने आफ्नो सामथ्र्य छैन । अरुले सहयोग नगरेपछि निर्माण सुरु भएको मन्दिर पनि अलपत्र छ”, दिलीपले भन्नुभयो ।
मन्दिर निर्माण समितिका सचिव सञ्जय पासवानले आर्थिक अभावकै कारण काम अगाडि नबढेको सुनाउनुभयो । यहाँ २५/३० पासवान परिवारको बसोबास छ । पूजापाठका लागि अफ्ठ्यारो भयो भनेर गुनासो गर्दा पनि कसैले सहयोग नगरेको उहाँले गुनासो गर्नुभयो ।
यहाँ विसं २०५४ मै मन्दिर निर्माणको योजना बनाइएको थियो । सोही योजनाअनुसार स्थानीय जोगिलाल पासवान र दिलीप पासवानले त्यसै वर्ष एक कट्ठा जग्गादान गर्नुभएको थियो । त्यसयता पटकपटक पहल गर्दा पनि मन्दिर निर्माण हुनसकेन । विसं २०७४ मा स्थानीय तहको निर्वाचनपछि काम सुरु भएको थियो । नगरको सहयोग र स्थानीय पासवान समुदायले रकम सङ्कलन गरेको रकमबाट मन्दिरको पिल्लर र छतसम्म निर्माण भयो तर बाँकी काम अगाडि बढ्न सकेको छैन । स्थानीय गुणबहादुर खड्काले सानो मन्दिर पनि वर्षौसम्म नबन्नु राम्रो नभएको बताउनुभयो । रासस