ईटहरी । एरिनाको टिफिनले शिक्षा र सामाजिक सेवाको क्षेत्रमा नयाँ आयाम थप्दै ईटहरीमा मेगा किचन सञ्चालनमा ल्याएको छ। यस किचनमार्फत सामुदायिक विद्यालयका विद्यार्थीहरूले पौष्टिक र स्वच्छ दिवा खाजा प्राप्त गर्ने छन्।
गत आर्थिक वर्ष ईटहरी उपमहानगरपालिकाले ठेक्का प्रक्रियाबाट नेपालकै पहिलो मेगा किचनमार्फत सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरेको थियो। यो आर्थिक वर्षमा रोकिएको उक्त कार्यक्रम अब विद्यालयसँगको सम्झौतामा एरिनाको टिफिनले पुनः सुरु गरेको हो।
कम्पनीका फुड एडभाइजर आस्मा खुलालका अनुसार बालबालिकाहरूको स्वास्थ्य, पोषण र शैक्षिक प्रदर्शन सुधार गर्ने उद्देश्यले मेगा किचन स्थापना गरिएको हो। कम्पनीकी निर्देशक कञ्चन थापाले विद्यार्थीहरू खाजा अभावका कारण भोकै पढ्न बाध्य हुने र यसले पढाइमा नकारात्मक असर पार्ने भएकाले शिक्षामा सकारात्मक योगदान दिने लक्ष्यका साथ यो पहल थालिएको बताइन्।
मेगा किचनको साप्ताहिक मेनुमा आइतबार भेज फ्राइराइस (१२० ग्राम), सोमबार मसला मिक्स हलुवा (१८० ग्राम), मंगलबार चनामटर चिउरा (२०० ग्राम), बुधबार खिचडी (२०० ग्राम), बिहीबार खीर (२०० ग्राम) र शुक्रबार वैकल्पिक रूपमा कुखुराको मासु (८० ग्राम) सहित चिउरा वा भेज बिर्यानी (२०० ग्राम) रहेको छ।
पहिलो चरणमा केही सामुदायिक विद्यालयहरूबाट सुरु गरिएको यो कार्यक्रमलाई आगामी दिनमा थप विद्यालयहरूमा विस्तार गर्ने र स्थानीय समुदायलाई पनि सहभागी गराउने योजना रहेको थापाले बताइन्। यस अभियानको अभिभावक र विद्यालय प्रशासनले खुलेर प्रशंसा गरेका छन्।