विराटनगर । लायन्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रीक ३२५ सी को विशेष अग्रसरता र दमक नगरपालिकाको सहभागितामा दुई करोड ५० लाख लगानीमा सुविधासम्पन्न आइसियु स्थापना हुने भएको छ । झापाको दमकस्थित दमक अस्पतालमा सुबिधासम्पन्न आइसियु निर्माणका लागि डिस्ट्रीक ३२५ सी, नगरपालिका र स्थानीय लायन्स क्लवहरुले पहल गरेका हुन् ।
लायन्स डिस्ट्रीक्ट ३२५ सी का गभर्नर विकास अधिकारीका अनुसार लायन्स क्लब फाउन्डेसनले दमकका स्थानीय लायन्स क्लव तथा दमक नगरपालिका समेतको सहभागितामा निर्माण हुने आइसियुका लागि बजेट छुट्यादिएको हो ।
अधिकारीका अनुसार फाउन्डेसनले संसार भरी नै आवश्यकताका आधारमा बिभिन्न सेवाका कार्यका लागि सहयोग गर्ने गर्दछ । सोहि आधारमा ३२५ सी को माग बमोजिम सहयोग गर्न फाउन्डेसन तयार भएको हो ।
दमकमा सरकारी अस्पताल भए पनि सुबिधासम्पन्न आइसियुका अभावमा बिरामीलाई विराटनगर धरान तथा भद्रपुरसम्म रिफर गर्नुपर्ने अवस्था रहेको थियो । तर लायन्सले सुबिधा सम्पन्न आइसियु निर्माण गरिदिने भएपछि सो अप्ठ्यारो अवस्थाको अन्त्य हुने बिश्वास लिइएको छ ।
भवन निर्माणका लागि लागि करिब साढे दुई करोड लाग्ने अनुमान गरिएको छ । जसका लागि लायन्स फाउन्डेसनले एकलाख ५० हजार (नेपाली रुपैयाँ दुई करोड) र स्थानीय क्लब तथा नगरपालिकाले म्याचिङ फण्डका रुपमा ५० लाख जुटाउने छन् ।
गभर्नर अधिकारीका अनुसार सबै प्रक्रिया अन्तिम चरणमा पुगेको र चाँडै नै शिलान्यास गरि आइसियु निर्माणलाई तिब्रता दिइने छ छ । आगामी बैशाखसम्ममा सम्पूर्ण निर्माण पूरा गरि अस्पताललाई हस्तान्तरण गरिने छ । लायन्स ले पुनःनिर्माण, बाढी पहिरो भुकम्पमा परि पिडामा रहेका जनताको सेवा, शिक्षा स्वास्थ तथा सेवाका अन्य कार्यमा समेत सहयोग गर्दै आएको छ ।
केही समय अघि कोशी प्रदेशमा आएको बाढीका कारण समस्मा परेका जनतालाई लायन्स फाउन्डेसनको सहयोगमा झापा, मोरङ, सुन्सरी, पाँचथर लगायतका क्षेत्रमा २० लाख भन्दा बढिको खाधान्न, लत्ताकपडा, भाडाकुडा लगायतका सामाग्री प्रदान गरेको थियो ।