विराटनगर । विराटनगरमा पहिलो पटक आईईसी डिजाइनर्स रनवे-१४ को पहिलो क्षेत्रीय अडिसनको आयोजना गरिरहेको छ।
आईईसी कलेज अफ आर्ट्स एण्ड फेशनको २०२२ ब्याच, नेक्स्ट मोडल्स नेपालको संयुक्त आयोजना तथा रोनक फेशन एजेन्सीको व्यवस्थापनमा भएको कार्यक्रमले नेपालको फेशन क्षेत्रको विकेन्द्रीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
माघ ४ गते विराटनगरको सिटी प्यालेस होटल एण्ड रिसोर्टमा आयोजना गरिएको कोशी प्रदेश अडिसनमा फिदिम, धरान, बिर्तामोड, सिलिगुडी लगायत विभिन्न स्थानबाट ८७ जनाको सहभागिता रहेको रोनक फेशन एजेन्सीका निर्देशक रोनक अग्रवालले बताए। ताज इभेन्ट्स नेपाल, विराटनगरद्वारा सजाइएको भव्य वातावरणमा प्रतिभागीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।
मिस नेपाल २०२० नम्रता श्रेष्ठ, नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमला, क्षेत्रीय निर्देशक रोनक अग्रवाल, मोडल हन्ट नेपाल विजेता बिक्रम महासेठ, र मिस बंगाल २०१३ तथा लिड फेशन डिजाइनर बनिषा शर्मा कट्टेल सहितको विशिष्ट निर्णायक मण्डलले प्रतिभागीहरूको मूल्यांकन गरेको थियो। क्षेत्रीय अडिसनबाट चार जना प्रतिभागी छनोट भएका छन्। जसमध्ये दुईदेखि तीन जना अन्तिम कार्यक्रमका लागि छनोट हुने छन्। यसको नतिजा फागुन महिनाको मध्यतिर घोषणा गरिने आयोजकले जनाएको छ।
गत हप्ता काठमाडौंमा भएको अडिसनमा ३०० भन्दा बढी सहभागिता रहेको थियो। पोखरा र बुटवलमा पनि आगामी अडिसनहरू हुने कार्यक्रम रहेको छ। देशभरबाट कुल ३० सहभागीहरु छनोट गरिने यो प्रतियोगिताको ग्राण्ड फिनाले चैत्र १५ र १६ गते काठमाडौंमा आयोजना हुने छ।
छनोट भएका उनीहरूको अनुभवको आधारमा रु. १५,००० देखि रु. २५,००० सम्मको पारिश्रमिक प्रदान गरिने नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले जानकारी दिए। भारतीय कोरियोग्राफरको निर्देशनमा हुने यस कार्यक्रममा नेपालका २० भन्दा बढी सेलिब्रेटी शो स्टपरहरूको उपस्थिति रहने छ।
आईईसी डिजाइनर्स रनवे-१४ को यो आयोजनाले नेपालभर फेशन क्षेत्रको प्रवर्धन गर्नुका साथै आकांक्षी मोडलहरूलाई कुनै प्रशिक्षण शुल्क बिना नै आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ। यस कार्यक्रमले क्षेत्रीय प्रतिभाहरूलाई राष्ट्रिय स्तरको अवसर प्रदान गर्नुका साथै दक्षिण एसियाको फेशन क्षेत्रमा नेपालको स्थानलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।
रोनक फेशन एजेन्सीले कोशी प्रदेशमा मिस्टर नेपाल,मोडल हण्ड,डिजाइनर्स रनवे लगायत कार्यक्रमको छनोटको व्यवस्थापन गर्दै आएको छ।