विराटनगर । विणा फाउण्डेशनले विराटनगरमा ‘कोशी विचार उत्सव–२०२५’ आयोजना गर्ने भएको छ । फाउण्डेशनद्वारा शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आगामी फागुन १५ देखि १७ गतेसम्म कोशी विचार उत्सव आयोजना हुने जानकारी दिइएको हो ।
उक्त उत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रदेशको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक लैङ्गिक, शैक्षिक, भाषिक, साहित्य, राजनीतिक, पर्यटन, उद्योग, व्यवसाय, औद्योगिक अवस्था, पत्रकारिता, जलवायु परिवर्तन, स्वास्थ्य र अन्य विषयमा विज्ञहरूद्वारा विचारविमर्शका माध्यमबाट देखिएका समस्या समाधान गर्नुका साथै समुचित प्रचारप्रसार गरिने फाउण्डेशनका अध्यक्ष वरुण झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार खुला संवादका मध्यमबाट प्रदेशको विकासका लागि सरोकार भएकाबीच संवाद कायम गर्नु, सांस्कृतिक सम्पदाको संरक्षण सम्वर्द्धन, ऐतिहासिक धरोहरलाई उजागर गर्नु, आर्थिक विकासका लागि अघि बढ्नु, नवीन विचारका साथ समस्या समाधानको विकल्प खोज्नु, युवा सशक्तीकरणलगायत कार्य गर्नु उत्सवको उद्देश्य रहेको छ ।
फाउण्डेशनका अध्यक्ष झाले तीन दिनसम्म सञ्चालन हुने उक्त विचार उत्सवमा १६ वटा विषयमा विषय विज्ञद्वारा विचारविमर्श कार्यक्रम गर्नुका साथै २५ युवाको सहभागितामा ‘मैले हेर्न चाहेको कोशी प्रदेश’ विषयक युवाशक्तिको कल्पनाको प्रदेश कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो । उत्सवमा राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकारद्वारा गीत, नृत्यलगायत सांस्कृतिक कार्यक्रमको आयोजना गरिने छ ।
उत्सव कार्यक्रम प्रत्यक्ष र अप्रत्यक्ष गरी विभिन्न सञ्चारमध्यमबाट एक करोड जनतासमक्ष पुर्याउने लक्ष्य राखिएको सोही अवसरमा जानकारी दिइएको थियो । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट गर्ने अपेक्षासहित सभामुख, सङ्घीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्री, राष्ट्रिय एवं प्रतिनिधिसभाका सांसदहरू, प्रदेशसभाका सांसदहरू, स्थानीय निकायका प्रमुख एवं उपप्रमुख, सामाजिक, सांस्कृतिक, औद्योगिक, सञ्चार र कला क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने अध्यक्ष झाले उल्लेख गर्नुभयो ।