विराटनगर । विराटनगर जुनियर जेसीज र काब्रा ग्रुप अफ इन्डष्ट्रिजको संयुक्त आयोजनामा भएको २९औं अन्तर विद्यालय जेसीज टेस्टी टेस्टी क्विज प्रतियोगिता सम्पन्न भएको छ।
विराटनगर महानगरपालिकाका प्रमुख नगेश कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्विज मास्टरको भूमिका विराटनगर जुनियर जेसीजका संस्थापक अध्यक्ष जेसी डा. सन्देश दास श्रेष्ठले निर्वाह गर्नुभएको थियो। कार्यक्रममा काब्रा ग्रुप अफ इन्डष्ट्रिजका प्रबन्ध निर्देशक श्याम काब्रा लगायत बिराटनगर जुनियर जेसीजका पूर्व अध्यक्षहरू, बीओटी अध्यक्ष टिकाराज ढकाल, सनराइज चौधरी, उज्ज्वल खरेल र को-अर्डिनेटर कविराज दाहालको उपस्थिति रहेको थियो।
प्रतियोगिताको फाइनलमा एभरेष्ट, सहिद स्मृति, तरहरा मोडेल, बुढानीलकण्ठ, जनता माविसहित छ विद्यालयले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा एभरेष्ट विद्यालयले प्रथम स्थान हासिल गर्दै रु. १५,००० नगद पुरस्कार प्राप्त गरेको छ। त्यसैगरी द्वितीय स्थान हासिल गर्ने जनता माविले रु. १०,००० र तृतीय हुने सहिद स्मृति विद्यालयले रु. ५,००० नगद पुरस्कार प्राप्त गरेका छन्।
बिराटनगर जुनियर जेसीजका अध्यक्ष जु.जे. गौरव कर्णका अनुसार र्यापिड फायर राउन्डमा सबै प्रश्नको सही उत्तर दिने जेनिथ इन्टरनेशनल कलेजका विद्यार्थीलाई समेत नगद पुरस्कार प्रदान गरिएको थियो।