विराटनगर । विराटनगरमा जारी आठौं विराट एक्स्पो-२०२५ मा एउटा अनौठो स्टल आगन्तुकहरूको आकर्षणको केन्द्र बनेको छ। ह्याङ्गर २ को स्टल नम्बर १४० मा उन्नत गोठ प्रा. लि. ले आफ्नो गौमय ब्रान्डमार्फत गाईको गोबर र गहुँतबाट निर्मित विभिन्न उत्पादनहरू प्रदर्शनीमा राखेको छ।
नेपालमा गाईको दूध र दहीको व्यापक प्रयोग हुने भए पनि दूध दिन छाडेका गाईहरूलाई प्रायः उपेक्षा गरिन्छ। यही समस्यालाई समाधान गर्न विराटनगरको उन्नत गोठ प्रा. लि. ले अभिनव पहल थालेको छ। गौमय ब्रान्डकी संचालिका बेबिना दाहालका अनुसार, यस परियोजनाले बहुआयामिक फाइदा पुर्याउने लक्ष्य राखेको छ।
कम्पनीले गाईको गोबरबाट दियो, अगरबत्ती, भगवानको मूर्ति, लक्ष्मीको चरण र गोबरको धुलो जस्ता विभिन्न उत्पादनहरू बनाउँदै आएको छ। स्थानीय किसानहरूबाट गाईको गोबर खरिद गरिने हुँदा उनीहरूको आम्दानी बढ्नुका साथै गाई पाल्न प्रोत्साहन मिल्छ।
दाहालका अनुसार यस परियोजनाले बेरोजगार महिलाहरूलाई तालिम र रोजगारी प्रदान गर्दै आएको छ। अब यसलाई राष्ट्रिय स्तरमा विस्तार गरी थप बेरोजगार महिलाहरूलाई रोजगारी दिने, गाई र किसानलाई स्वावलम्बी बनाउने र वातावरण संरक्षणमा योगदान पुर्याउने लक्ष्य रहेको छ।
यसरी एउटा सामान्य देखिने पहलले रोजगारी सिर्जना, पशु संरक्षण र वातावरण संरक्षण जस्ता महत्वपूर्ण विषयहरूलाई समेटेको छ। यो नमूना परियोजना सफल भए यसले देशभर सकारात्मक प्रभाव पार्न सक्ने देखिन्छ।
गौमय ब्रान्डको बारेमा थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।