इशु पन्त
विराटनगर । आकासे प्याकुरेल ६८ वर्षका भए । हुम्लाका आकासे कुम्लो बोकेर जाडो छल्न तराईका शहरमा व्यापार गर्न झर्छन् । आकासेसँगै पाँच जनाको समूह छ । उनीहरुसँग कमल, राडी, गलैंचा, ब्लान्केटको पोको छ ।
जाडोमा जाडोकै कपडा बिक्री गर्ने उनीहरु गर्मीमा तन्ना र पातलो कपडा बेच्न तराईमधेश झर्छन् । कर्णाली प्रदेशबाट कोशी प्रदेशमा व्यापार गर्न आईपुगेका उनीहरुले बोकेको भारीबाटै व्यापार चलाउँछन् र पेट पाल्छन् । बिहानैदेखि भारी बोकेर बाटोमा डुल्ने उनीहरु सहज ग्राहक भेटिए घरमा पनि छिर्छन् । नत्र उनीहरुले थकान मेट्ने ठाउँ खोज्नुपर्छ । जसले एक अन्जुली पानी दियो, त्यसैले प्यास मेटाउने हो, आकासेले लामो स्वास तान्दै भने–शहरमा गाँस, बास र प्यास मेटाउन पनि पैसा चाहिने ।
उनका अनुसार सबै उस्तै पनि छैनन् । हुम्लाबाट आएको भनेपछि जाडोमा चिया दिने र गर्मीमा चिसो खुवाउने पनि भेटिन्छन । उनीहरु जाडो र गर्मीमा एक पटक मधेश झर्छन् । भन्छन्–हुम्लामा घरघरको उद्यम राडीपाखी हो, त्यहाँ बिक्री नभएपछि मधेश झार्ने चलन छ । तर, उनी अब बुढो भएको महसुश गरिराछन् । उनी व्यापार गर्न मधेश झर्न नसक्ने संभावना छ । आउँदो वर्षदेखि मधेश झर्दिन होला, आकासे भन्छन्–बुढो भइएछ ।
उनको तराईमधेश अनुभव भिन्न छ । शिक्षित र सम्पतिवाला छन् । पहाडमा पैसा पनि छैन र शिक्षा पनि ।