विराटनगर । सुनचाँदी पसलबाट पासबुक जारी गरेर छाँया बैकिङ्ग कारोबार गरी सर्वसाधारणलाई झुक्यानमा पारी लाखौं रकम डुबाएर फरार भएको आरोपमा विराटनगरस्थित चाँदनी गहना पसलका सञ्चालक पवन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । कारोबारको उद्देश्य विपरित गहना पसलबाट आर्थिक कारोबार गरी फरार भएको उजुरीपछि विराटनगर–८ का श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
विराटनगर–७ स्थित मेनरोडमा चाँदनी गहना पसल सञ्चालन गर्दै आएका श्रेष्ठले गैरकानुनी रूपमा आर्थिक एवं वित्तीय कारोबार गरेको आरोप छ । मोरङका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीका अनुसार सर्वधारणले पैसा डुबाएर सम्पर्कविहीन भएको उजुरी दिएपछि उनलाई गत माघ २१ गते सुनसरीबाट पक्राउ गरेर अनुसन्धान भईरहेको जानकारी दिएका छन् । उनीबाट ठगीने ११ जनाले उजुरी दिएका छन् । उजुरीका आधारमा सर्वसाधारणको ८६ लाख रुपैँया आकर्षक ब्याजको लोभमा श्रेष्ठले लिएको आरोप छ ।
सुन पसलमा धितो राखेर पैसा लिने प्रचलन सामान्य मानिन्छ । तर, ब्याजको लोभ देखाएर पासबुक जारी गर्ने, रकम जम्मा गराउने र त्यो रकम पुनः ब्याजमा लगाउने कार्य कानुन विपरित हुन्छ । वित्तीय कारोबार गर्न अनुमति नलिईगर्ने कार्य कानुन विपरित देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रवक्ता जोशीले बताए ।