सिबी अधिकारी/रासस
काठमाडौँ । सङ्घर्ष विष्ट तीस वर्ष अघि पाइलट बन्नका लागि पढाइ गर्न अमेरिका पुग्नुभयो । पाइलट बनेर देशको सेवा गर्ने उहाँको सपना थियो । तर, परिस्थितिले उहाँलाई पाइलट बन्ने भन्दा पनि अन्य क्षेत्रमा लागेर देशको सेवागर्ने अवस्थामा ल्यायो ।
पाइलट बन्ने सपना थाती राखेर विष्ट नेपाल फर्किनुभयो । अभिभावक (बुबा–आमा) को चाहना अनुसार विष्टले पाइलटको सपना छाडेर नेपालमा पुख्र्यौली पेसा (पर्यटन व्यवसाय) सम्हाल्नुभयो । उहाँ आज नेपालमा पर्यटन व्यवसायमा जम्नुभएको छ । सङ्घर्ष सफल पर्यटन व्यवसायीको रुपमा चिनिनुहुन्छ ।
सङ्घर्षको पाइलट बन्ने सपना अब उहाँकी जेठी छोरी अर्नग्या विष्टले पुरा गर्दैहुनुहुन्छ । केही दिनअघि छोरीलाई पाइलट पढ्न अमेरिका बिदा गर्नुभएका विष्टले आफ्नो विगत सम्झिएर निकै भावुक बन्नुभयो । उहाँले भन्नुभयो, “आजभन्दा ३० वर्षअघि म अमेरिकामा पाइलट तालिम गरिरहेको थिए, बिदामा बुबाआमाको औधी याद आयो । लगत्तै नेपाल फर्किए । त्यही बिचमा आमाबुबाले भन्नुभयो, तँ, पाइलट पढेपछि कता–कता जालास् ! तिमी हामीलाई चाहिन्छौ । यो व्यवसायलाई सम्हाल्नुपर्छ, अभिभावको चाहना अनुरुप विष्ट नेपाल फर्केर पर्यटन व्यवसायमा रमाए ।”
आफ्ना सन्तान चिकित्सक, पाइलट र इञ्जिनिर बनुन् भन्ने अभिभावको पहिलो चाहना हुन्छ । यो पेसा मात्रै नभएर समाजको प्रतिष्ठा पनि बनिरहेको छ । तर, विष्ट परिवारले प्रतिष्ठाभन्दा पनि पुख्र्यौैली पेसालाई प्राथमिकता दिएर छोरालाई नेपालमै व्यवसायमा डोर्याउने निधो गरे । सङ्घर्षले अभिभावको चाहनालाई नकार्न सक्नुभएन । पेसा व्यवसायलाई निरन्तरता दिनुभयो । सङ्घर्षको सपना पाइलट बन्ने नै थियो । तर परिवार र देशप्रतिको मायाले उहाँ स्वदेश फर्किनुभयो ।
नामजस्तै सङघर्षको सङ्घर्षले व्यावसायिक सफलता प्राप्त गर्नुभएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेबान) का केन्द्रीय अध्यक्ष समेत रहनुभएका विष्टको होटल तथा रेष्टुरेण्ट व्यवसायमा नेतृत्व लोभलाग्दो छ । “सङ्घर्षपछिको सफलताले जीवनलाई आनन्दित तुल्याउछ”, उहाँ भन्नुहुन्छ, “आज म असाध्यै खुसी छु । किनकी नेपालमै बसेर केही भए पनि गर्नसकेको छु, मेरो ठूलो सपना छैन । यही देशमा केही गरु भन्ने हुटहुटी छ ।”
सङ्घर्ष स्वदेश फर्कनुमा एउटा गज्जबको संयोग छ । उहाँको परिवार कोटेश्वरमा बस्छ । परिवारका पाँच सन्तान (चार छोरा र एक छोरी) मध्ये सङ्घर्ष साइलो छोरा हुनुहुन्थो । “म अमेरिका उडेपछि बुबाआमाले सधैँ चित्त दुःखाएर कोटेश्वरमाथि उड्ने विमानलाई सोध्नुहुन्थ्यो रे ‘तैले मेरो छोरालाई अमेरिका लगिस कहिले फिर्तागर्छस्”, उहाँले भन्नुभयो–“त्यतिमात्रै हैन, दक्षिणकाली मातालाई प्रार्थना गरेर मेरो छोरो चाँडो फिर्ता गरिदिनुस् । फर्केपछि कालो बोको चढाउँछु भनेर भाकल गर्नुभएको रहेछ ।” पछि नेपाल फर्केर दक्षिणकालीमा भाकल पूरा गरेको विष्टले स्मरण गर्नुभयो ।
“बुबाआमाको चाहना अनुसार पाइलट बन्ने सपना छाडेर यहाँ बसे । मेरो जीवनमा बन्ने इच्छा र सपना नै पाइलट थियो”, विष्टले भन्नुभयो, “मेरो सपना ब्रेकफास्ट नेपालमा, लन्च युरोपमा र डिनर अमेरिकामा गर्ने थियो । तर, बुबाआमाको सपनालाई पहिलो प्राथमिकता थिएर मेरो इच्छालाई त्यत्तिकै थाती राखे ।”
सपना रोकिएकामा केही समय विष्टमा छटपट्टी हुन्थ्यो । सन् २००३ मा बिबाह गरेको एक महिनामा उहाँ बुबाआमालाई युरोप घुम्न जान्छु भनेर अमेरिका पुग्नुभयो । यसबारे उहाँले श्रीमतीलाई मात्रै जानकारी दिनुभयो । विष्टले अमेरिकामा प्याराग्लाइडिङको तालिम लिनुभयो । करिब नौ महिनाको तालिम सकेर उहाँ पहिलो प्याराग्लाइडिङको पहिलो लाइसेन्स होल्डर पनि बन्नुभयो । उहाँअघि नारायण पराजुली र राजेश बम्जनले प्याराग्लाईडिङको तालिम लिनुभएको थियो तर, लाइसेन्स भने लिनुभएको थिएन ।
विष्ट भन्नुहुन्छ, “केही हदसम्म मेरो पाइलट बन्ने सपना चाहिँ प्याराग्लाइडिङमा रमाएर सीमित राखे । तर, म गौरब गर्छु किन की नेपाल संसारकै सुन्दर देश हो । जातजाती, भाषाभाषी, सगरमाथा र बुद्धजन्भूमिमा बसेर थोरै भएपनि आत्मनिर्भर भएर पर्यटन व्यवसायलाई चलायमान बनाउन पाउँदा ज्यादै खुशी छु र नेपालमा बस्न पाएकोमा गौरब पनि गर्छु ।”
आफूलाई खुशी राख्न विष्टले निरन्तर मेहेनत र समाजसेवालाई निरन्तरता दिनुभएको छ । उहाँ दैनिक १२ देखि १४ घण्टा श्रम गर्नुहुन्छ । विष्टको अनुभवमा जीवनमा प्राप्ति मात्रै हैन त्याग र समर्पणको आनन्द पनि बेल्लै छ । “आफ्नै देशमा बसेर केही युवालाई छोटो समय काम सिकाएर सक्षम व्यावसायिक वातावरण बनाउने र नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउन केही हदसम्म योगदान पुगेको छ । यसैबाट मलाई आनन्छ आउँछ”, उहाँले भन्नुभयो ।
विष्टको सफलतामा जीवनसाथी विश्व कीर्तिमानी नेपाली प्रतिष्ठा अमात्य (विष्ट) को दरिलो साथ छ । प्रतिष्ठा अमात्य सन् २००४ मा स्मरण शक्तिमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने पहिलो नेपाली हुनुहुन्छ । गीत गायन र रचनामा पनि पोख्त उहाँका विभिन्न एल्वम सार्वजनिक भएका छन् । अहिले उहाँ पर्यटन क्षेत्रमा सघाइरहनुभएको छ । सफल व्यवसायी विष्ट व्यवसायका अतिरिक्त खेलकुद र समाजसेवाको क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । विद्यालय तह देखिनै धावक रहेनुभएका विष्ट मार्सल आर्टमा ब्लाकबेल्ट हुनुुहुन्छ । साइक्लिङ सङ्घको पूर्वअध्यक्ष उहाँले प्याराग्लाइडिङ र स्वीमिङमा पनि विभिन्न रेकर्ड कायम गर्नुभएको छ ।
संस्कृति प्रवर्द्धनमा ‘नेपाली चुल्हो’
लाजिम्पाटमा रहेको ‘नेपाली चुल्हो’ लोकप्रिय भोजन गृहको रुपमा स्थापित छ । पारिवारिक वातावरणमा स्तरीय खानाका परिकारको स्वाद चखाइरहेको नेपाली चुल्होले संस्कृति र पर्यटन प्रवर्द्धन गरिरहेको छ । नेपाली चुल्होका प्रबन्ध निर्देशक विष्ट विभिन्न परिकारको स्वाद ग्राहकमाझ पु¥याइरहेको बताउनुहुन्छ ।
“विभिन्न सांस्कृतिक प्रस्तुतिसहित खानाको साथमा नेपाली पर्यटन प्रवर्द्धन गरिरहेका छौं”, उहाँले भन्नुभयो । नेपाली चुल्होमा विभिन्न जातजाति र वेषभूषा झल्कने सांस्कृतिक प्रस्तुतिसहित खानाका परिकार लिन सकिन्छ ।
यस्तै विष्टकै नेतृत्वमा रहेको ठमेलमा ३० वर्षदेखि स्थापित ‘नर्थफिल्ड क्याफे’मा भारतीय, अमेरिकन, म्याक्सिकन कन्टिनेन्टल खानाको मज्जा लिन पाइन्छ । ठमेलकै ‘लाबेला क्याफे’मा इटालियन कन्टिनेन्टल खाना पाइन्छ । नर्थफिल्ड पर्यटकको रोजाइमा पर्छ ।
पर्यटन व्यवसायी विष्ट सामाजिक कार्यमार्फत धेरैका लागि भरोसा र आशाका केन्द्र पनि बन्नुभएको छ । उहाँमार्फत अवसर पाएका देशका विभिन पेसामा उपलल्लो तहमा कार्यरत छन् । आफूले सहयोग गरेका व्यक्ति उपल्लो पदमा पुग्दा ज्यादै खुसी र आनन्द लाग्ने उहाँ बताउनुहुन्छ । नवौँ राष्ट्रिय खेलमा प्याराग्लाईडिङ प्रशिक्षकको जिम्मेवारी निभाउनुभएका विष्ट नेपाल साइक्लिङ एशोसिएशनका पूर्वउपाध्यक्ष हुनुहुन्छ । चर्चित बुद्ध वाज बर्न इन नेपाल अभियानका संयोजक विष्ट टुर दी लुम्बिनीको उपाध्यक्ष र ठमेल पर्यटन विकास परिषदका पूर्वउपाध्यक्ष हुनुहुन्छ ।
रेष्टुरेण्ट र बारमा गएर खाना खाने संस्कृति विकास भएको धेरै समय भएको छैन । विशेषगरी शहरी क्षेत्रमा रेष्टुरेण्ट तथा बारको व्यवसाय बढ्दो छ । रेष्टुरेण्ट तथा बारमा पुग्ने युवा जनशक्ति धेरै छ । बाह्य र अन्तरिक पर्यटकको भरमा रेष्टुरेण्ट एण्ड बार सञ्चालन भएका छन् । विष्टले रेष्टुरेण्ट एण्ड बारको व्यापार विस्तारको बिकल्प नेपालमा अब विदेशी पर्यटक भित्र्याउने र आन्तरिक पर्यटक प्रवर्द्धनको कार्यक्रम सञ्चालन गर्नु रहेको बताउनुभयो ।