प्रेम देवान
विराटनगर । विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणाधीन रहेको छ । करिब ६० वर्ष पुरानो टर्मिनल भवन अबका एकवर्षपछि नयाँ टर्मिनल भवनमा सर्नेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ३ अर्ब १२ करोड लागतमा अत्याधुनिक र सुविधासम्पन्न टर्मिनल भवन निर्माण गरिरहेको हो । भवनपछि धावनमार्ग पनि विस्तार गर्ने प्राधिकरणको योजना रहेको जानकारी दिइएको छ । प्राधिकरणका इन्जिनियर सञ्जीव खड्काले दुई वर्षमा करिब ४८ प्रतिशत हाराहारीमा काम सम्पन्न भइसकेको जानकारी दिएका छन् । जसमा वित्तीय प्रगति ३७ प्रतिशत छ ।
विराटनगर विमानस्थलको हाल प्रयोग भईरहेको भवन ६४ वर्ष पुरानो हो । नयाँ टर्मिनल भवन निर्माणपछि विराटनगर विमानस्थल नयाँ स्परुपमा देखिने छ । विराटनगरमा सन् १९५८ मा विमानस्थल बनेको थियो । विराटनगर–१४ स्थित जतुवामा विमानस्थल रहेको थियो । हाल उक्त क्षेत्रलाई पुरानो हवाई फिल्ड भन्ने गरिएको छ । पूर्वको व्यस्त शहर विराटनगर विमानस्थलमा धेरैपछि नयाँ टर्मिनल भवन निर्माण भईरहेको हो ।
नयाँ टर्मिनल भवनमा १७ वटा टिकट काउन्टर, २४ वटा पसल, चारवटा रेस्टुरेन्ट, सम्मेलन कक्ष, तीनवटा भीआईपी कक्ष, बाल उद्यान, स्तनपान कक्षजस्ता सुविधा रहनेछन् । सन् २०२१ देखि २०२४ सम्म यात्रुको चाप ५ प्रतिशतले बढेको तथ्यांक विमानस्थलले दिइएको छ । सन् २०२५ देखि सन् २०३० सम्म ४ प्रतिशत र सन् २०३० देखि सन् २०३५ सम्म ३ प्रतिशत यात्रु बढ्ने पूर्वानुमान नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ ।
देशका प्रमुख विमानस्थलमध्येको विराटनगरबाट दैनिक २० भन्दा बढी उडान हुँदै आएको छ । त्रिभुवन विमानस्थलपछि दोस्रो अन्तराष्ट्रिय विमानस्थलको रुपमा कुनैबेला विराटनगर विमानस्थलको पहिचान थियो । कुनैबेला पूर्वाञ्चलका पहाडी गन्तव्य तुम्लिङटार, भोजपुर, रुम्जाटार उडान हुने गरेको थियो ।
‘आगामी २०८२ पुसभित्र निर्माण सकेर हस्तान्तरण गरिसक्ने योजना राखिएको छ । टर्मिनल भवनको शिलान्यास तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गरेका थिए । निर्माणको ठेक्का पाएको केसी, डाँफे जेभीले निर्धारित समयमा काम सम्पन्न गर्ने लक्ष्यलाई टेक्न प्रयास गरिरहेको बताइएको छ ।
नयाँ टर्मिनल भवन १६ हजार ५ सय ९० वर्ग मिटर क्षेत्रफलमा निर्माण भइरहेको छ । भवनसँगै १ हजार ५ सय मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्गलाई लम्ब्याएर १ हजार ७ सय ७० मिटर बनाउने योजना समेत राखिएको छ । हालको विमानस्थल कार्यालय रहेको उत्तरतर्फ नयाँ भवन बनिरहेको छ । नयाँ टर्मिनल भवनमा सेवा स्थान्तरण गरेपछि पुरानो भवन जरुरत नपर्ने अधिकारीहरुको भनाई छ ।