विराटनगर । विराटनगर महानगरपालिकाले सीप विकास तालिमका लागि छुट्टै प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ । निजी क्षेत्र उद्योग संगठन मोरङसँगको सहकार्यमा सबै किसिमका तालिमलाई एकिकृत गर्ने तयारी गरिएको हो । उद्योग संगठन मोरङका उपाध्यक्ष सुरेन्द्र गोल्छालाई यसको संयोजन जिम्मेवारी दिइएको छ ।
तालिम सञ्चालनका लागि डनबस्को स्कूलका पाँचवटा कोठा प्रयोगमा ल्याईने छ । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले तालिमका लागि डनबस्को स्कुलको भवनका कोठा प्रयोग गर्ने बारे सम्झौता भईसकेको जानकारी दिएका छन् । यसैगरी महानगरपालिकासँग परियोजना सञ्चालनको विषयमा समेत सम्झौता भईसकेको उनले जानकारी दिएका छन् । चालु आर्थिक वर्षमा महानगरपालिकाले २० लाख रकम निकासा गर्नेछ । त्यसबाट सीप विकास तालिम लिएर व्यवसायी बन्न चाहनेहरुको आवश्यकता अनुसार अपग्रेड गरिनेछ ।
आगामी आर्थिक वर्षदेखि तालिमका नाममा महानगरमा छरिदै आएका सबै रकमहरुलाई एकिकृत गरेर सीप विकास केन्द्रमार्फत सञ्चालन गरिने छ । विराटनगर महानगरपालिका भित्र सीप विकास तालिमको नाममा वर्षेनी ठूलो रकम खर्चने गरेपनि तालिम लिएकाहरु व्यवसायी तथा स्वरोजगार बन्नेको संख्या न्यून रहेको छ । औद्योगिक क्षेत्रमा जनशक्तिको आवश्यकता र माग भएपनि दक्ष जनशक्ति उत्पादन अभाव छ । उद्योग संगठन मोरङसँग सम्झौता गरेर तालिम दिदाँ औद्योगिक तथा व्यवसायिक जनशक्ति उत्पादनमा केन्द्रीत हुने निष्कर्षमा महानगरपालिका छ । यसैगरी महानगरपालिकाको बहुप्राविधिक विद्यालयमार्फत सीपसँग सम्बन्धित पाठ्यक्रम समेत छुट्टै बनाउने योजना महानगरपालिकाले राखेको छ ।
सिटीईभीटी अन्तर्गतका पाठ्यक्रम पढाई हुने बहुप्राविधिक विद्यालयले स्थानीय माग अनुसारको तालिमका लागि आफ्नै पाठ्यक्रम निर्माण गर्ने र त्यहि अनुसारको पठनपाठन गराउन समेत निजी क्षेत्रको सहयोग लिइने भएको हो ।
विराटनगरका अधिकांश बुटिक र इम्ब्रोइडरीसँग सम्बन्धित दक्ष कामदार भारतबाट आउँने गरेका छन् । इम्ब्रोइडरी भनेको सादा कपडामा सियो र धागोको सहयोगमा हातैले बुट्टा भर्ने कलालाई मानिन्छ। इम्ब्रोइडरी गर्नेदेखि बुटिकको काम गर्नेहरु भारतबाट ल्याउनुपर्ने स्थिति भएकोले यहाँको आवश्यकता अनुसार सीप विकास गराउँदा त्यसबाट लाभ लिनसक्ने र रोजगार सिर्जना हुने महानगरपालिका उपमेयर शिल्पा निराला कार्की बताउँछिन् । कपडा डिजाइन तथा सिलाइ गर्ने व्यवसाय अन्तर्गत पर्ने बुटिकमा अर्डरअनुसार व्यक्तिको वर्ण उचाइ, मोटाइलगायत कुरालाई ख्याल गरेर उपयुक्त डिजाइन दिने काम गरिन्छ ।